राजदूतका लागि पहिलो पटक आवेदन माग : कस्ता व्यक्तिले पाउँछन् प्राथमिकता ?

आप्रवासन आप्रवासन

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन तथा सिफारिस आह्वान गरेको छ । मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्न मन्त्रालयले योग्य र इच्छुक नेपाली नागरिकबाट दरखास्त मागेको हो । 

मन्त्रालयका अनुसार इच्छुक उम्मेदवार आफैँले दरखास्त पेस गर्न वा अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ । आवेदन दिने अन्तिम म्याद आगामी जेठ २२ गते अपराह्न ५ बजेसम्मका लागि तोकिएको छ ।

राजदूत बन्नका लागि मन्त्रालयले कडा न्यूनतम योग्यता र सर्तहरू निर्धारण गरेको छ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार उम्मेदवार कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने अनिवार्य व्यवस्था छ । 

उम्मेदवारले कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमतिपत्र (पीआर) वा अन्य कुनै प्रकारको अध्यागमन सुविधा लिएको हुनुहुँदैन । अङ्ग्रेजी भाषामा राम्रो दक्खल भएको हुनुपर्ने र आयोजक राष्ट्रको आधिकारिक भाषा जानेको भए त्यसलाई थप योग्य मानिनेछ ।

उम्मेदवारको पृष्ठभूमि र नैतिक आचरणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । सरकारी सेवाबाट बर्खास्त नभएको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर नभएको र भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको व्यक्ति मात्र राजदूतका लागि योग्य मानिनेछ । उम्मेदवार उच्च नैतिक चरित्र भएको, नेपाल सरकार वा अन्तर्राष्ट्रिय निकायको कालोसूचीमा नपरेको र प्रस्तावित मुलुकमा कुनै पनि प्रकारको स्वार्थ नबाझिएको हुनुपर्नेछ । 

यसैगरी, विदेशी राष्ट्रको वैतनिक पदमा काम गरेको भए उक्त जिम्मेवारी छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने सर्त राखिएको छ । अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत व्यक्ति पनि यसका लागि योग्य हुने छैनन् ।

न्यूनतम योग्यताका अतिरिक्त मन्त्रालयले केही विशेष योग्यता भएका उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासन जस्ता विषयमा स्नातकोत्तर वा सोभन्दा माथिल्लो शैक्षिक योग्यता भएकालाई प्राथमिकता दिइनेछ । 

कूटनीति, अन्तर्राष्ट्रिय व्यापार वा बहुपक्षीय वार्तामा विशेष तालिम लिएका, नेपालको परराष्ट्र नीतिसम्बन्धी अनुसन्धान गरेका र सरकारी वा सार्वजनिक सेवाको उच्च तहमा नेतृत्वदायी अनुभव भएका उम्मेदवारको दाबेदारी बलियो मानिनेछ । उम्मेदवारलाई कूटनीतिक सम्बन्ध र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि र अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासबारे पूर्ण जानकारी हुनुपर्नेछ ।

Final Nepal_Ambassador_TOR_mlpxqqn_page-0003Final Nepal_Ambassador_TOR_mlpxqqn_page-0004Final Nepal_Ambassador_TOR_mlpxqqn_page-0005

राजदूतका रूपमा नियुक्त हुने व्यक्तिले मुख्यगरी राजनीतिक, आर्थिक, कन्सुलर र सांस्कृतिक कूटनीतिको क्षेत्रमा काम गर्नुपर्नेछ । आयोजक राष्ट्रमा नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, वैदेशिक लगानी भित्र्याउने, व्यापार र पर्यटन प्रवर्द्धन गर्ने दायित्व राजदूतको हुनेछ । यसका साथै विदेशमा रहेका नेपाली नागरिकलाई राहदानी, भिसा सेवा प्रदान गर्ने, विपद् वा सङ्कटमा परेका नेपालीको उद्धार तथा संरक्षण गर्ने र नेपालको कला, संस्कृति र सकारात्मक छवि निर्माण गर्ने प्रमुख जिम्मेवारी तोकिएको छ ।

इच्छुक व्यक्तिले मन्त्रालयको वेबसाइटमा उपलब्ध फारममार्फत विस्तृत व्यक्तिगत विवरणसहितका कागजात पेस गर्नुपर्नेछ वा मन्त्रालयले दिएको इमेल ठेगानामा सम्पर्क गर्नुपर्नेछ । तोकिएको म्याद नाघी आएका वा रीत नपुगेका आवेदनलाई मान्यता नदिइने मन्त्रालयले स्पष्ट पारेको छ । प्राप्त आवेदन र सिफारिसमध्येबाट योग्यता र उपयुक्तताका आधारमा प्रारम्भिक सूची तयार गरी उम्मेदवारहरूलाई ‘सर्टलिस्ट’ गरिने र सूचीमा परेकालाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने मन्त्रालयको सूचनामा उल्लेख छ ।