अमेरिका र इरानले बिहीबार युद्धविरामलाई विस्तार गर्ने र हर्मुज जलडमरूमध्यमार्फत हुने ढुवानीमाथिका प्रतिबन्ध हटाउने सम्झौता गरेको स्रोतहरूले बताएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै यसलाई स्वीकृति दिएका छैनन् । इरानी सरकारी सञ्चारमाध्यमले पनि सम्झौता अन्तिम रूपमा टुङ्गो नलागेको जनाएको छ ।
सम्झौता सम्बन्धी जानकार चार स्रोतहरूका अनुसार प्रस्तावित व्यवस्था अनुसार युद्धविरामलाई थप ६० दिनका लागि विस्तार गरिनेछ र स्ट्रेट अफ हर्मुजमार्फत यातायातलाई अवरोधबिना सञ्चालन गर्न दिइनेछ, साथै वार्ताकारहरूले इरानको आणविक कार्यक्रमजस्ता कठिन मुद्दामा काम गर्नेछन् ।
वासिङ्टन र तेहरानको नेतृत्वबाट स्वीकृत भएमा यो सम्झौता सन २०२६ फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्वपछि शान्तितर्फको सबैभन्दा ठुलो कदम हुनेछ । दुई देशबिच भएको पछिल्लो प्रतिशोधात्मक आक्रमणपछि सम्भावित सम्झौताको खबर आएको हो । यस अघि अप्रिलमा अमेरिकाले एक तर्फी रूपमा युद्धविरामको घोषणा गरेको थियो ।
ट्रम्पले अझै सम्झौता अनुमोदन गरेका छैनन् । इरानले पनि यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । यस अघि एक्सियोसले युद्धविराम थप गर्नेबारे अमेरिका र इरान सहमतिमा पुगेको समाचार छापेको थियो । इरानको तस्नीम समाचार एजेन्सीले वार्ता टोलीसँग नजिक स्रोतलाई उद्धृत गर्दै सम्झौताको विवरण अझै अन्तिम रूप नपाएको र पुष्टि नभएको जनाएको छ ।
‘हामी अझै त्यहाँ पुगेका छैनौँ, तर धेरै नजिक छौँ र हामी निरन्तर काम गरिरहेका छौँ,’ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै भने । ‘सम्झौता हुन्छ भनेर म ग्यारेन्टी दिन सक्दिन, तर अहिले अवस्था सकारात्मक देखिन्छ,’ उनले थपे । ट्रम्प प्रशासनले यसअघि पनि युद्ध अन्त्य नजिक पुगेको दाबी गर्दै आएको थियो, तर इरानले ती दाबीहरूलाई अस्वीकार वा न्यून आकलन गरेको थियो ।
सम्झौताअनुसार स्ट्रेट अफ हर्मुजमार्फत ढुवानी पूर्ण रूपमा खुला गरिनेछ । साथै अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनेछ र इरानी तेल बिक्रीमा लगाइएका केही प्रतिबन्धहरू पनि खुकुलो बनाइनेछ । यो खबरपछि विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ । स्ट्रेट अफ हर्मुज विश्वको झन्डै २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास ढुवानी हुने जलमार्ग हो । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि इरानले यहाँबाट तेलको ढुवानीमा अवरोध गरेको थियो । यसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य आकासिएको छ ।
यसअघि अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले पाँच वटा इरानी ड्रोन खसालेको र बन्दर अब्बास बन्दरगाहमा छिट्टै प्रक्षेपण हुन लागेको छैठाैँ ड्रोनको नियन्त्रण केन्द्रमा प्रहार गरिएको जनाएको थियो । त्यसपछि कुवेतले आफ्नो तर्फ प्रक्षेपित ब्यालिस्टिक मिसाइल रोकिएको बतायो । बन्दर अब्बास बन्दरगाहमा आक्रमणको प्रतिकारमा इरानले कुवेतमा रहेको ठुलो अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको खबर पनि आएको थियो ।
इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले बन्दर अब्बास आक्रमणका लागि जिम्मेवार अमेरिकी आधारलाई लक्षित गरिएको र पुनः यस्तै भए अझ कडा प्रतिक्रिया दिने चेतावनी दिएको तस्नीम समाचार एजेन्सीले जनाएको थियो।
अमेरिकी अधिकारीहरूले यी आक्रमणहरूलाई रक्षात्मक कदम भएको र युद्धविराम कायम राख्ने उद्देश्यले गरिएको बताए । सीमित स्तरका भए पनि यी घटनाहरूले युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयास कति कमजोर छ भन्ने देखिएको छ । इरानमा जारी द्वन्द्वले हजारौँको ज्यान लिइसकेको छ र विश्व ऊर्जा बजारमा ठुलो असर पारेको छ।
ट्रम्पले मार्चदेखि नै युद्ध अन्त्य नजिक पुगेको बताउँदै आएका छन् । तर दुवै पक्षबिच अझै सार्वजनिक रूपमा ठोस सहमति बनेको छैन। इरानले प्रतिबन्ध हटाउनुपर्ने, विदेशी सम्पत्ति फुकुवा हुनुपर्ने र अमेरिकी सेना क्षेत्रबाट फिर्ता हुनुपर्ने माग गर्दै आएको छ।
इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने अमेरिकी अडान छ । आफूले आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि चलाइरहेको दाबी इरानको छ।