अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो स्वास्थ्य परीक्षणले उनको स्वास्थ्य अवस्था उत्कृष्ट रहेको देखाएको छ ।
तर चिकित्सकहरूले उनलाई तौल घटाउन र शारीरिक गतिविधि अझ बढाउन सुझाव दिएका छन् । ह्वाइट हाउसले सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदनअनुसार ट्रम्पका निजी चिकित्सक शिन बार्बेबेलाले राष्ट्रपति ट्रम्पको मुटु, फोक्सो, स्नायु प्रणाली तथा समग्र शारीरिक अवस्था निकै राम्रो रहेको बताएका छन् । ट्रम्प आगामी महिना ८० वर्ष पुग्दै छन् । उनी अमेरिकी इतिहासमा राष्ट्रपति पदको शपथ ग्रहण गर्ने सबैभन्दा बढी उमेरका व्यक्ति हुन् ।
स्वास्थ्य परीक्षणका क्रममा ट्रम्पले मोन्ट्रियल संज्ञानात्मक मूल्याङ्कन नामक मानसिक क्षमता परीक्षणमा ३० मध्ये ३० अंक प्राप्त गरेका छन् । यो परीक्षण स्मरणशक्ति, ध्यान तथा सोच्ने क्षमताको मूल्याङ्कन गर्न प्रयोग गरिन्छ । चिकित्सकका अनुसार ट्रम्प पूर्ण रूपमा राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्न सक्षम छन् ।
प्रतिवेदनअनुसार ट्रम्पको तौल झन्डै १०८ किलोग्राम छ । यो सन २०२५ को परीक्षणको तुलनामा करिब ६ दशमलव ३ किलोग्राम बढी हो । चिकित्सकले उनलाई स्वस्थ आहार अपनाउन, नियमित शारीरिक गतिविधि बढाउन तथा निरन्तर तौल घटाउने प्रयास गर्न सुझाव दिएका छन् । ट्रम्पले हाल कोलेस्ट्रोल नियन्त्रणका लागि दुई प्रकारका औषधि सेवन गरिरहेका छन् ।
आराम अवस्थामा ट्रम्पको मुटुको धड्कन प्रतिमिनेट ७३ पटक रहेको उल्लेख गरिएको छ । चिकित्सकहरूले उनको कार्डियाक एज (मुटुको जैविक उमेर) वास्तविक उमेरभन्दा करिब १४ वर्ष कम रहेको अनुमान गरेका छन् । प्रतिवेदनमा ट्रम्पको व्यस्त कार्यतालिका, उच्चस्तरीय बैठकहरू, सार्वजनिक कार्यक्रम तथा नियमित गल्फ खेल्ने बानीले उनको स्वास्थ्यलाई सहयोग गरिरहेको उल्लेख गरिएको छ ।
गत वर्ष ट्रम्पका हातमा देखिएको नीलडाम र खुट्टा सुन्निने समस्याले उनको स्वास्थ्यबारे चर्चा बढाएको थियो । सन् २०२५ मा नसासम्बन्धी समस्या देखिएको थियो । तर अहिले सो समस्यामा सुधार आएको बताइएको छ । बारम्बार मानिसहरूसँग हात मिलाउनु तथा मुटु रोगको जोखिम कम गर्न सेवन गरिने एस्पिरिन औषधिको सामान्य प्रभावका कारण ट्रम्पका हातमा निलो डाम बसेको भनिएको छ ।
ट्रम्पलाई व्यायाम गर्न खासै मन पर्दैन । विगतमा नियमित व्यायाम गर्न आफूलाई मन नपर्ने बताएका थिए । गल्फ खेल्नबाहेक अन्य नियमित व्यायाम नगर्ने उनी बताउँछन् । एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मलाई व्यायाम मन पर्दैन । ट्रेडमिलमा घण्टौँ दौडिनु वा हिँड्नु मेरो लागि होइन ।’