कूटनीतिक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

आप्रवासन आप्रवासन

 

अमेरिका–इरानबिच कूटनीतिक वार्ता पुनः अघि बढ्ने संकेत आएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ ।

सोमबार भने तेलको भाउ बढेको थियो । तेलको अन्तर्राष्ट्रिय बेञ्चमाकै ब्रेन्ट क्रुड आयल करिब २ प्रतिशतले घटेर प्रतिब्यारेल ९३ डलर शून्य ८ सेन्टमा झरेको छ । अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि २ प्रतिशतकै हाराहारीमा घट्दै ९० डलर ४३ सेन्टमा आएको छ ।

इरानले अमेरिका–वार्ता अस्थायी रूपमा रोकिएको संकेत दिएपछि तेलको मूल्य सोमबार ४ दशमलव २४ प्रतिशतले बढेको थियो । तर पछिल्ला रिपोर्टहरूका अनुसार कूटनीतिक वार्ता पुनः सही बाटोमा फर्किएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एबीसी न्युजसँग कुरा गर्दै आगामी एक साताभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र इरानसँगको युद्धविराम विस्तार गर्ने सम्झौता सम्भव रहेको बताएका छन् ।

लगानी बैंक जेफ्रीजका प्रमुख अर्थशास्त्री मोहित कुमारका अनुसार दुवै पक्ष वार्तामा अधिक लाभ उठाउने प्रयास गरिरहेका छन्, जसका कारण पछिल्ला दिनमा तनाव र कूटनीति दुवै देखिएको छ । उनका अनुसार हालको अवस्थाले अमेरिका र इरान पुनः पूर्ण सैन्य द्वन्द्वतर्फ फर्किने सम्भावना कम देखिन्छ ।

तर दोयचे बैंकका विश्लेषकहरूले भने अनिश्चितता अझै कायम रहेको र स्ट्रेट अफ होर्मुज खोल्ने विषय अझै स्पष्ट नभएको बताएका छन् ।