इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बेरुतमाथि आक्रमण गर्ने योजना स्थगित गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहुसँग लेबनानको राजधानी बेरुतमाथि ठुलो सैन्य आक्रमण नगर्न आग्रह गरेपछि नेतन्याहुले उक्त योजना स्थगित गरेको बताइएको छ । ट्रम्पले सोमबार आफ्नो सामाजिक सञ्जालमा लेखे, ‘आज मैले बिबी नेतन्याहुसँग कुरा गरेर बेरुतमा ठुलो आक्रमण नगर्न अनुरोध गरेँ । त्यसपछि उनले आफ्ना सैनिकहरूलाई फर्काए । धन्यवाद, बीबी ।’
‘बिबी’ नेतन्याहुको प्रचलित उपनाम हो ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार दुई नेताबिच भएको टेलिफोन वार्ता निकै तनावपूर्ण र चर्काे भएको थियो । केही रिपोर्टमा ट्रम्पले नेतान्याहुलाई अमेरिकाको समर्थनबिना उनको राजनीतिक अवस्था निकै कठिन हुने चेतावनीसमेत दिएको दाबी गरिएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन ।
ट्रम्पको भनाइले हालै इजरायल र लेबनानबीच बढ्दो तनावलाई नियन्त्रण गर्ने प्रयासमा अमेरिका सक्रिय रहेको संकेत गरेको छ । यसअघि पनि अमेरिका र लेबनानले इजरायल तथा हिजबुल्लाहबिच सीमित युद्धविरामका लागि प्रयास गरिरहेका बेला बेरुतमाथि सम्भावित इजरायली आक्रमणबारे चिन्ता व्यक्त गरिएको थियो ।