अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्न रोक लगाउने उद्देश्यले एक प्रस्ताव पारित गरेको छ। २१५ विरुद्ध २०८ मतले पारित भएको उक्त प्रस्ताव ट्रम्प प्रशासनको इरान नीतिप्रति आफ्नै रिपब्लिकन पार्टीभित्र पनि असन्तुष्टि बढिरहेको संकेतका रूपमा हेरिएको छ।
मतदानका क्रममा चार जना रिपब्लिकन सांसदहरू थोमस मेसी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसन—डेमोक्रेट सांसदहरूको पक्षमा उभिएर प्रस्तावलाई समर्थन गरेका थिए। मेन राज्यका डेमोक्रेट सांसद जारेड गोल्डेनले पनि यसपटक प्रस्तावको पक्षमा मतदान गरे।
युद्ध घोषणा गर्ने अधिकार केवल अमेरिकी कंग्रेससँग रहेको उल्लेख गर्दै त्यस अधिकारको संरक्षण आवश्यक रहेको रिपब्लिकन सांसद टम ब्यारेटले बताए। ट्रम्पबाट सम्भावित राजनीतिक दबाबको डरबारे सोधिएको प्रश्नमा उनले आफूले सही ठानेको कुराअनुसार मतदान गरेको र त्यसको परिणाम स्वीकार्न तयार रहेको प्रतिक्रिया दिए।
यो प्रस्ताव अब रिपब्लिकन बहुमत रहेको अमेरिकी सिनेटमा जानेछ। सिनेटबाट पनि पारित भएमा राष्ट्रपति ट्रम्पले यसलाई भिटो गर्न सक्नेछन्। त्यस अवस्थामा भिटो उल्ट्याउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुई९तिहाइ बहुमत आवश्यक पर्नेछ।
प्रतिनिधिसभाको विदेश मामिला समितिका वरिष्ठ डेमोक्रेट सदस्य ग्रेगरी मिक्सले यस मतदानलाई राष्ट्रपति ट्रम्पको अवैध र महँगो इरान युद्धविरुद्धको महत्वपूर्ण द्विदलीय चेतावनी भन्दै युद्ध अन्त्यतर्फको पहिलो कदम भएको बताए। उनका अनुसार ट्रम्प प्रशासनले युद्धका घोषित उद्देश्यहरू हासिल गर्न सकेको छैन, बरु इन्धनको मूल्य वृद्धि भएको छ र इरानको आणविक कार्यक्रमसम्बन्धी कूटनीतिक समाधान अझ कठिन बनेको छ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि सैन्य आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गर्यो । साथै विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द गरिएको थियो।
अप्रिलमा अमेरिकाले इरानतर्फ जाने वा त्यहाँबाट आउने जहाजहरूमाथि नाकाबन्दी लगाउने घोषणा गरेको थियो। त्यसै महिनाको ८ तारिख अमेरिका र इरानबिच प्रारम्भिक युद्धविराम सम्झौता भएको थियो। तर त्यसपछि पनि दुवै पक्षबिच सैन्य कारबाही जारी रहेको छ। हालै अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेको थियो भने इरानले अमेरिकी सहयोगी राष्ट्र कुवेतमाथि जवाफी हमला गरेको थियो।
मतदानअघि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने वार्ता “धेरै राम्रोसँग अघि बढिरहेको” दाबी गर्दै सम्झौता यसै सप्ताहन्तसम्म टुंगिन सक्ने बताएका थिए। उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिका र इरानबिच सम्झौताको सम्भावना नजिक पुगेको र दुवै पक्षबिच संवाद सकारात्मक रहेको बताए।
ट्रम्पले आफ्नो प्रशासनका अधिकांश सदस्यहरू युद्धलाई थप विस्तार नगरी सम्झौतामार्फत अन्त्य गर्न चाहेको पनि उल्लेख गरे। उनका अनुसार दुवै पक्ष कागजी सम्झौतामा हस्ताक्षर गर्ने चरण नजिक पुगेका छन् र वार्ता अपेक्षाकृत सौहार्दपूर्ण वातावरणमा अगाडि बढिरहेको छ।