नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा विदेशमा पढेर आएका अधिकांश चिकित्सक अनुत्तीर्ण भएका छन् । काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म लिएको लाइसेन्सको परीक्षामा फेल हुनेहरूमा नेपालका निजी कलेजको तुलनामा विदेशमा चिकित्साशास्त्र (डाक्टर) पढेर आएकाहरूको सङ्ख्या बढी देखिएको हो ।
नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको लाइसेन्स परीक्षाको देश तथा कलेज अनुसारको नतिजा विवरण सार्वजनिक गरेको छ । काउन्सिलले सूचना जारी गर्दै नेपाल तथा विदेशका विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययन पूरा गरी परीक्षामा सहभागी भएका विद्यार्थीहरूको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार एमबीबीएसतर्फ समग्रमा ६३.५ प्रतिशत र बीडीएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
एमबीबीएस तर्फको देशगत नतिजा हेर्दा नेपालमा अध्ययन गरेका विद्यार्थीहरूको उत्तीर्ण प्रतिशत उच्च देखिएको छ । नेपालबाट परीक्षामा सहभागी भएका कुल १,२५४ जना विद्यार्थीमध्ये ९६३ जना अर्थात् ७६.७ प्रतिशत उत्तीर्ण भएका छन् भने २८७ जना अनुत्तीर्ण भएका छन् । यस्तै, विदेशमा अध्ययन गरेर आएका विद्यार्थीहरूमध्ये बंगलादेशबाट सहभागी ३६७ जनामध्ये १५१ जना अर्थात् ४१.१४ प्रतिशत र भारतबाट सहभागी २६ जनामध्ये ११ जना अर्थात् ४२.३१ प्रतिशत उत्तीर्ण भएका छन् । चीनबाट परीक्षा दिएका १३३ जनामध्ये रोक्का भएकाबाहेक २ जनामात्र उत्तीर्ण भएको काउन्सिलको तथ्याङ्कले देखाउँछ ।
नेपालभित्रका विभिन्न मेडिकल कलेज तथा प्रतिष्ठानहरूको कलेजगत नतिजा विश्लेषण गर्दा चितवन मेडिकल कलेज र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नतिजा उत्कृष्ट छ । चितवन मेडिकल कलेजबाट परीक्षामा सम्मिलित ५८ जनामध्ये ५४ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ७७ जनामध्ये ७१ जना उत्तीर्ण भएका छन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगञ्ज मेडिकल क्याम्पसका ५६ जनामध्ये ४७ जना उत्तीर्ण भएका छन् भने नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको उत्तीर्ण प्रतिशत सबैभन्दा न्यून अर्थात् ५४.८४ प्रतिशतमात्र छ ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा.दीपेन्द्र पाण्डेले काउन्सिलले लाइसेन्स परीक्षाको कलेजगत र देशगत नतिजा कसैलाई असफल देखाउन नभई मेडिकल शिक्षाको क्रिस्टल क्लियर ‘रियालिटी चेक’ बाहिर ल्याउन सार्वजनिक गरेको बताए । डा. पाण्डेले भने, ‘लाखौँ रुपैयाँ खर्चेर कुन कलेज र कुन देशबाट कस्ता चिकित्सक निस्किरहेका छन् भन्ने थाहा पाउने अधिकार आम नागरिक र राज्यलाई छ । प्रशासनिक पारदर्शिता र सूचनाको हक सुनिश्चित गर्नु काउन्सिलको कानुनी दायित्व हो । यो तथ्याङ्क केवल चर्चाका लागि होइन, कलेजहरूको सिट निर्धारण र सम्बन्धन अनुगमनमा (एक्सन) लिन चिकित्सा शिक्षा आयोगलाई आधिकारिक रूपमा पठाइसकिएको छ ।’
काउन्सिलले सार्वजनिक गर्ने नतिजाको कम प्रतिशतमा धेरै पटक असफल भइरहेका पुराना विद्यार्थीहरूको सङ्ख्या ठुलो हुने भएकाले पनि पहिलो पटक परीक्षा दिने नयाँ स्नातकहरूको वास्तविक नतिजाभन्दा समग्र पास प्रतिशत निकै कम देखिने डा.बस्नेतको भनाइ छ ।
काउन्सिल स्वास्थ्य क्षेत्रमा ‘बोर्डरलाइन’ प्रोडक्ट होइन, शतप्रतिशत कम्पिटेन्ट चिकित्सक मात्र भित्र्याउन दृढ रहेको उनले बताए ।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. रवीन बस्नेत विदेशी विश्वविद्यालयबाट चिकित्सा शास्त्र अध्ययन गरेर फर्किएका नेपाली डाक्टरहरूले कडा मेहनत गर्दा पनि नेपाल मेडिकल काउन्सिलको परीक्षामा असफल हुनुमा व्यक्तिगत कमजोरीमात्र नभई धेरै प्रणालीगत र संरचनात्मक कारण रहेको बताउँछन् ।
डा.बस्नेतले भने, ‘एउटा कारण त क्लिनिकल एक्सपोजर र प्रयोगात्मक अभ्यासको कमी हो । धेरैजसो विदेशमा पढ्ने विद्यार्थीहरूले स्थानीय भाषाको समस्याका कारण बिरामीहरूसँग प्रत्यक्ष कुराकानी र उपचार प्रक्रियामा पर्याप्त रूपमा संलग्न हुन पाउँदैनन् । सैद्धान्तिक ज्ञान राम्रो भए पनि नेपालका अस्पतालहरूमा देखिने बिरामीको चाप र व्यावहारिक अभ्यासको अनुभव कम हुन्छ ।’
भाषाको कठिनाई दोस्रो कारण रहेको उनको भनाइ छ । डा.बस्नेतले भने, ‘अङ्ग्रेजी बाहेक अन्य भाषा (जस्तै रसियन वा चिनियाँ) माध्यम भएका देशहरूमा चिकित्सा शास्त्र अध्ययन गर्दा मेडिकल अवधारणाहरू बुझ्न र पछि नेपाल फर्केर तिनलाई पुनः अङ्ग्रेजी वा नेपाली क्लिनिकल परिप्रेक्ष्यमा ढालेर परीक्षा दिन अतिरिक्त मानसिक दबाब पर्छ ।’
परीक्षाको स्वरूप पनि महत्त्वपूर्ण कुरा हुने उनले बताए । उनले भने, ‘कतिपय वैदेशिक कलेजहरूमा मौखिक वा वर्णनात्मक परीक्षा प्रणाली हुन्छ, जबकि नेपाल मेडिकल काउन्सिलले पूर्ण रूपमा छिटो र सटिक निर्णय लिनुपर्ने (मल्टिपल च्वाइस कोइसन ढाँचामा हुन्छ । यसका लागि छुट्टै परीक्षा रणनीति र अभ्यासको आवश्यकता पर्छ ।’
नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जीव तिवारीले पास–फेलभन्दा पनि मेडिकल शिक्षामा मूख्यतया गुणस्तरीय शिक्षामा विश्वास गर्नुपर्ने बताए ।
काउन्सिलले सार्वजनिक गर्ने नतिजाको कम प्रतिशतमा धेरै पटक असफल भइरहेका पुराना विद्यार्थीहरूको सङ्ख्या ठुलो हुने भएकाले पनि पहिलो पटक परीक्षा दिने नयाँ स्नातकहरूको वास्तविक नतिजाभन्दा समग्र पास प्रतिशत निकै कम देखिने डा.बस्नेतको भनाइ छ ।
उनले भने, ‘विदेशबाट फर्किएका डाक्टरहरूलाई नेपालको स्वास्थ्य प्रणाली, यहाँका गाइडलाइन्स र क्लिनिकल वातावरणसँग घुलमिल गराउन राज्य वा संस्थागत स्तरबाट कुनै पनि आधिकारिक सङ्क्रमणकालीन कार्यक्रमको व्यवस्था छैन । विद्यार्थीहरू निजी कोचिङ सेन्टर वा आत्म(अध्ययनमा मात्र भर पर्नुपर्ने बाध्यता छ ।’
नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य डा. कालुसिंह खत्रीले नेपालभित्र छनोट प्रक्रिया सकिएपछि विदेश जाने चलन रहेको बताए । उनले भने, ‘र्याङ्किङमा कम आउने विद्यार्थीमात्रै विदेश जाने गरेका छन् । मानौँ नेपालको १४०० र्याङ्कसम्म नेपालमा पढ्न मिल्छ तर, १४०१ र्याङ्क ल्याएकोलाई बङ्गलादेश वा अरू कुनै देश पठाउन जरुरी छ त ? विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि छात्रवृत्ति बाहेक पैसा तिरेर पठाउन उपयुक्त छैन ।’
नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा.सञ्जीव तिवारीले पास–फेलभन्दा पनि मेडिकल शिक्षामा मूख्यतया गुणस्तरीय शिक्षामा विश्वास गर्नुपर्ने बताए । उनले भने, ‘नेपालको पाठ्यक्रम जाँच अनुसार हुने भएर नेपाली विद्यार्थीलाई फाइदा हुन्छ । एउटै बास्केटमा राखेर स्वदेशमा पढ्ने राम्रो, विदेशमा पढ्ने नराम्रो भन्ने हुँदैन । यस विषयमा चिकित्सा शिक्षा आयोगले अनुगमन गर्नुपर्ने देखिन्छ ।’