ब्रड पिक हिमपहिरोमा मृत्यु भएकी अमेरिकी आरोहीको शव फेला

आप्रवासन आप्रवासन

 

 

 पाकिस्तानको ब्रड पिकमा गत जुलाई ३० मा गएको हिमपहिरोमा परी मृत्यु भएकी अमेरिकी आरोही सारा म्यालोरी गाइसको शव शुक्रबार फेला परेको छ। उनी विश्वप्रसिद्ध ब्रिटिस–नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीकी सदस्य थिइन्।

ब्रड पिक विश्वका अग्ला हिमालमध्ये एक हो। जुलाई ३० मा गएको शक्तिशाली हिम पहिरोपछि टोलीसँग सम्पर्क विच्छेद भएको थियो । निर्मल पुर्जाको कम्पनीले पछि टोलीका कुनै पनि सदस्य जीवित नरहेको पुष्टि गरेको थियो।

हिम पहिरोपछि गरिएको खोज तथा उद्धार अभियानमा पाकिस्तानका सोहेल साखीसहित टोलीका आठ सदस्यको शव फेला परेको थियो । तर गाइस र नेपालका आरोही न्वाङ थिन्डु शेर्पाको अवस्था लामो समयसम्म अज्ञात थियो। यसअघि उद्धारकर्मीहरूले गाइसको हुन सक्ने एउटा खुट्टा फेला परेको बताएका थिए ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष अवकाशप्राप्त मेजर जनरल इरफान अर्शद खानले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्थानीय उद्धार स्वयंसेवकहरूले ब्रड पिकको ढलानबाट अमेरिकी आरोहीको शव फेला पारेको जानकारी दिएका छन्।

उनका अनुसार शवलाई अहिले आधार शिविरतर्फ ल्याउने प्रक्रिया भइरहेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका महासचिव अयाज शिग्रीले डनलाई स्थानीय पोर्टरहरूले पनि शव खोजी अभियानमा स्वेच्छाले सहयोग गरेको बताए।

उनले भने, ‘शव गाइसकै भएको पहिचान भएको छ। यसलाई आधार शिविरमा ल्याइनेछ र त्यसपछि पाकिस्तान सेनाका हेलिकप्टरमार्फत स्कर्दु पुर्‍याइनेछ।’ शिग्रीका अनुसार बेपत्ता रहेका नेपाली आरोही न्वाङ थिन्डु शेर्पाको खोजी भने जारी रहनेछ।