काठमाडौं । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकले विदेशमा आर्जन गरेको सीप, अनुभव र पुँजीलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले सरकारले ‘रिटर्नी कनेक्ट’ (Returnee Connect) प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ।
नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमै रोजगारी, उद्यमशीलता तथा अन्य आर्थिक अवसरसँग जोड्ने लक्ष्यसहित यो प्रणाली विकास गर्न लागेको हो।
प्रस्तावित प्रणाली वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकको विवरण दर्ता तथा अभिलेखीकरण गर्ने सरकारको आधिकारिक माध्यम हुनेछ। यसमार्फत विदेशमा काम गरेर फर्किएका नेपालीले आफूले विदेशमा सिकेको सीप, हासिल गरेको कार्यअनुभव, शैक्षिक तथा व्यावसायिक योग्यता र भविष्यमा गर्ने योजना तथा आकाङ्क्षासम्बन्धी विवरण दर्ता गर्न सक्नेछन्।
विदेशमा लामो समय काम गरेर फर्किएका धेरै नेपालीसँग विभिन्न क्षेत्रमा काम गरेको अनुभव, प्राविधिक सीप र केही पुँजीसमेत हुने भए पनि ती स्रोतलाई स्वदेशको रोजगारी तथा उत्पादनमूलक क्षेत्रमा जोड्ने प्रभावकारी माध्यमको अभाव देखिँदै आएको छ। यस्तो अवस्थामा सरकारले ल्याउन लागेको रिटर्नी कनेक्ट प्रणालीले विदेशबाट फर्किएका श्रमिकको क्षमता र सम्भावनाको पहिचान तथा अभिलेखीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रणालीमा दर्ता भएका विवरणका आधारमा वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई उनीहरूको सीप, अनुभव र रुचिअनुसार स्वदेशमा उपलब्ध रोजगारी, व्यवसाय सञ्चालन तथा उद्यमशीलताका अवसरसँग जोड्ने उद्देश्य राखिएको छ।
यस प्रणालीले विदेशबाट फर्किएका नेपालीको सीप र अनुभवलाई राष्ट्रिय श्रम बजारसँग जोड्न तथा उनीहरूको ज्ञान, दक्षता र पुँजीलाई देशभित्रै उपयोग गर्ने वातावरण बनाउन सहयोग पुग्ने सरकारको लक्ष्य देखिन्छ।
मन्त्रालयका अनुसार रिटर्नी कनेक्ट प्रणाली चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यद्यपि, यसको औपचारिक सुरुवात मिति, विवरण दर्ता गर्ने प्रक्रिया, आवश्यक कागजात तथा प्रणालीमार्फत उपलब्ध हुने सेवाबारे थप जानकारी सार्वजनिक हुन बाँकी छ।