अमेरिकी नौसेनाले अश्वेत सैनिक डोरिस मिलरको सम्मानमा नामकरण गर्न लागिएको विमानवाहक युद्धपोतको नाम परिवर्तन नगर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा उक्त युद्धपोतको नाम राख्ने विषयमा आन्तरिक छलफल भएको खबर सार्वजनिक भएको केही महिनापछि नौसेनाले नाम परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।
शुक्रबार दिएको प्रतिक्रियामा अमेरिकी नौसेनाका कार्यवाहक सचिव हङ काओका प्रवक्ताले भने– ‘यूएसएस डोरिस मिलरको नाम परिवर्तन गर्ने कुनै उद्देश्य छैन ।’
ट्रम्पको पहिलो कार्यकालमा निर्माणाधीन फोर्ड श्रेणीको विमानवाहक युद्धपोतको नाम ‘यूएसएस डोरिस मिलर’ राख्ने घोषणा गरिएको थियो । सन् १९४१ मा जापानले हवाईस्थित पर्ल हार्बरमा गरेको आक्रमणका बेला अमेरिकी सेनाको रक्षा गर्न वीरतापूर्ण भूमिका खेलेका अश्वेत सैनिक मिलरको सम्मानमा उक्त नाम राखिएको हो ।
गत अगस्टमा नौसेनाभित्र उक्त युद्धपोतको नाम परिवर्तन गरेर ट्रम्पको नाम राख्ने विषयमा छलफल भएको समाचार बाहिरिएको थियो । यद्यपि, त्यसबेला नौसेना र पेन्टागनले यसबारे कुनै निर्णय सार्वजनिक गरेका भने थिएनन् ।
मिलरका नाति थोमस ब्लेड्सोले नौसेनाको पछिल्लो निर्णयलाई ऐतिहासिक भन्दै स्वागत गरेका छन् । यसले आफ्नो परिवारको इतिहाससँगै मिलरको साहस, त्याग र देशसेवाको विरासतलाई भावी पुस्तासम्म जोगाउने उनले बताएका छन् । ‘डोरिस मिलरको कथा हाम्रो परिवारको इतिहास मात्र होइन, यो अमेरिकी इतिहास पनि हो । उनको साहसलाई पुस्तौँसम्म सम्झिन र सम्मान गर्नुपर्छ,’ ब्लेड्सोले भनेका छन् ।
को थिए डोरिस मिलर ?
सन् १९१९ मा टेक्सासको वाकोमा जन्मिएका डोरिस ‘डोरी’ मिलर सन् १९३९ मा अमेरिकी नौसेनामा भर्ना भएका थिए । त्यसबेला नौसेनामा अश्वेत सैनिकका लागि उपलब्ध सीमित काममध्ये भान्सेको काम पनि थियो । उनी पनि भान्सेको जिम्मेवारीमा कार्यरत थिए ।
सन् १९४१ डिसेम्बर ७ मा जापानले पर्ल हार्बरस्थित अमेरिकी नौसैनिक अड्डामा आक्रमण गर्दा मिलर कपडा संकलन गर्ने काममा थिए । बम खस्न थालेपछि उनी आफ्नो निर्धारित युद्धस्थलमा फर्किन पाएनन् । त्यसपछि घाइते कमान्डरलाई उद्धार गर्न सहयोग गरे ।
उनले हवाई आक्रमण रोक्न प्रयोग हुने विमानभेदी बन्दुक उचाल्दै जापानी विमानमाथि गोली चलाएका थिए । यसअघि उनले उक्त बन्दुक चलाउने तालिम पाएका थिएनन् । गोली सकिएपछि पनि उनले घाइते सैनिकहरूलाई सुरक्षित स्थानमा पुर्याउन सहयोग गरेका थिए ।
उनको साहसको सम्मानमा सन् १९४२ मा अमेरिकी नौसेनाका एडमिरल चेस्टर निमिट्जले उनलाई ‘नेभी क्रस’ पदक प्रदान गरेका थिए । यो अमेरिकी नौसेनाको उच्च सैन्य सम्मानमध्ये एक हो ।
त्यसको करिब एक वर्षपछि जापानी पनडुब्बीले प्रहार गरेको टर्पेडोबाट उनको जहाज ध्वस्त हुँदा माकिनको युद्धमा मिलरको मृत्यु भएको थियो । सन् २००१ मा बनेको चलचित्र ‘पर्ल हार्बर’ मा अभिनेता क्युबा गुडिङ जुनियरले उनको भूमिका निर्वाह गरेका थिए ।
डोरिस मिलरको नाममा विमानवाहक युद्धपोत राखिनु अमेरिकी नौसेनाको इतिहासमा पहिलो पटक कुनै सामान्य दर्जाका सैनिकको सम्मानमा यस्तो युद्धपोतको नाम राखिनु हो । साथै, अश्वेत अमेरिकी नागरिकको नाममा नामकरण गरिएको यो पहिलो अमेरिकी विमानवाहक युद्धपोत पनि हुनेछ ।
यसअघि नौसेनाले मिलरलाई अमेरिकाको सर्वोच्च सैन्य वीरता सम्मान ‘मेडल अफ अनर’ प्रदान गर्न सिफारिस गरेको जनाइएको थियो । उक्त सम्मान दिने अन्तिम निर्णय भने अमेरिकी कंग्रेसको स्वीकृति र राष्ट्रपतिको अनुमोदनमा निर्भर रहनेछ ।