चीनको शेनझाउ–२४ अन्तरिक्ष उडानको तयारी पूरा

आप्रवासन आप्रवासन

चीनको मानवसहितको अन्तरिक्ष अभियान ‘शेनझाउ–२४’ को प्रक्षेपणस्थलमा सबै तयारी पूरा भएको छ । प्रक्षेपणस्थलका उपकरण, कर्मचारी र प्रणाली उडानका लागि तयारी अवस्थामा रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

शनिबार शेनझाउ–२४ अभियानको अन्तिम पूर्ण प्रणाली संयुक्त अभ्यास सम्पन्न भएको छ । यो प्रक्षेपणअघि गरिने अन्तिम अभ्यास हो । रकेट, अन्तरिक्षयान र प्रक्षेपणस्थलका सबै प्रणाली ठिक अवस्थामा रहेको जनाइएको छ । निर्धारित तालिकाअनुसार प्रणाली जाँच, संयुक्त परीक्षण र इन्धन भर्ने प्रक्रिया अघि बढाइनेछ ।

यसैबिच, चीनको निजी अन्तरिक्ष कम्पनी ल्यान्डस्पेसले आफ्नो पुनः प्रयोगयोग्य ‘झुचे–३’ रकेटको पहिलो चरणबाट फिर्ता प्राप्त गरिएका नौवटै ‘टीक्यू–१२ ए’ इन्जिन परीक्षणमा सफल भएको जनाएको छ । यससँगै चीनको व्यावसायिक अन्तरिक्ष उद्योग पुनःप्रयोग गरिएको रकेटलाई फेरि अन्तरिक्षमा पठाउने दिशामा अघि बढेको छ ।

अगस्ट १९ मा उडान गरेको झुचे–३ रकेटको पहिलो चरण उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा अवतरणपछि फिर्ता ल्याइएको थियो ।  त्यसका नौ इन्जिनलाई छुट्टाछुट्टै खोलेर निरीक्षण, मर्मत र पुनःपरीक्षण गरिएको थियो । कम्पनीको परीक्षण केन्द्रमा गरिएको परीक्षणमा इन्जिनहरूको कार्यक्षमता सामान्य रहेको र उडानअघिको तथ्याङ्कसँग मेल खाएको पाइएको छ ।

करिब १८५ सेकेन्डको परीक्षणले इन्जिनहरू पुनःप्रयोग गर्न योग्य रहेको पुष्टि गरेको कम्पनीले जनाएको छ । पहिल्यै उडानमा प्रयोग भएका इन्जिनलाई पुनः प्राप्त गर मर्मत गरेर परीक्षण गरिएको ल्यान्डस्पेसको यो पहिलो परीक्षण हो ।

कम्पनीका अनुसार झुचे–३ रकेट निर्माण लागतको करिब ७० प्रतिशत पहिलो चरणमा खर्च हुन्छ, जबकि इन्धनको हिस्सा प्रक्षेपण खर्चको १ देखि ३ प्रतिशत मात्रै हुन्छ । पहिलो चरणका नौ इन्जिन पुनःप्रयोग गर्न सकिए प्रक्षेपण लागत उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ । कम्पनीले प्रति किलोग्राम पेलोड प्रक्षेपण लागत २० हजार युआन (करिब ३ हजार अमेरिकी डलर) भन्दा तल झार्ने लक्ष्य राखेको छ ।

झुचे–३ करिब ६६ मिटर लामो र ५७० टन तौलको रकेट हो । यसमा पुनःप्रयोग गर्न सकिने पहिलो चरण र लागत घटाउन स्टेनलेस स्टिलबाट निर्मित संरचना प्रयोग गरिएको छ । ठुलो सङ्ख्यामा उपग्रह प्रक्षेपण गर्ने अभियानलाई लक्षित गरी विकास गरिएको यो रकेट चीनको व्यावसायिक अन्तरिक्ष कार्यक्रमका लागि महत्त्वपूर्ण मानिएको छ ।

पुनःप्रयोगयोग्य रकेट प्रविधिमा चीनले पछिल्लो समय तीव्र प्रगति गरिरहेको छ । यस सफलताले अन्तरिक्ष प्रक्षेपणको लागत घटाउने, रकेटलाई छिटो पुनःप्रयोग गर्ने र व्यावसायिक अन्तरिक्ष उद्योग विस्तार गर्ने चीनको लक्ष्यलाई थप बल पुर्‍याएको छ ।