कार बिक्री गर्ने युवक अचानक बने बेल्जियमका राजकुमार : २६ वर्षपछि खुलेको शाही परिवारको रहस्य

आप्रवासन आप्रवासन

बेल्जियमका एक कार बिक्री गर्ने युवकको जीवन अचानक परिवर्तन भएको छ। २६ वर्षीय क्लेमेन्ट भान्डेनकेर्कहोभ आफू बेल्जियमको शाही परिवारका सदस्य भएको पुष्टि भएपछि अब राजकुमार बनेका छन् । बेल्जियमका राजा फिलिपका कान्छा भाइ प्रिन्स लोरेन्टले डीएनए परीक्षणपछि उनलाई आफ्नो जैविक तथा कानुनी छोरा स्वीकार गरेका हुन्।

यससँगै भान्डेनकेर्कहोभले प्रिन्स लोरेन्टको निजी सम्पत्तिमा आफ्ना सौतेनी दाजुभाइ तथा दिदीबहिनीसरह उत्तराधिकारको अधिकार पाएका छन् । तर उनले शाही भत्ता भने पाउने छैनन्, औपचारिक शाही जिम्मेवारी सम्हाल्ने छैनन् र बेल्जियमको सिंहासनको उत्तराधिकारी बन्ने अधिकार पनि पाउने छैनन् ।

६ महिनाअघि गोप्य रूपमा कानुनी मान्यता

‘द टेलिग्राफ’को रिपोर्टअनुसार ६३ वर्षीय प्रिन्स लोरेन्टले करिब ६ महिनाअघि एउटा सानो नगर भवनमा भएको निजी समारोहमा भान्डेनकेर्कहोभलाई कानुनी रूपमा आफ्नो छोरा स्वीकार गरेका थिए । यो घटना अहिले आएर मात्र सार्वजनिक भएको हो ।

कानुनी रूपमा छोरा स्वीकार गरिएपछि उनले लोरेन्टकी २० वर्षीया छोरी प्रिन्सेस लुइस तथा २० वर्षीय छोरा प्रिन्स निकोलस र १९ वर्षीय प्रिन्स आयमेरिकसरह आफ्नो पिताको निजी सम्पत्तिमा उत्तराधिकारको अधिकार पाएका छन् ।

राजकुमार बने पनि शाही सुविधा भने नपाउने

भान्डेनकेर्कहोभको नामसँग अब राजकुमारको उपाधि जोडिएको छ । तर उनलाई शाही भत्ता दिइने छैन । उनले बेल्जियमको राजपरिवारका तर्फबाट कुनै औपचारिक जिम्मेवारी पनि सम्हाल्ने छैनन् । साथै, सिंहासनको उत्तराधिकारमा पनि उनको कुनै अधिकार रहने छैन ।

उनले स्याक्स–कोबर्ग परिवारको थर अपनाउने वा नअपनाउने भन्ने निर्णय भने गरिसकेका छैनन् । हालै बेल्जियमको अखबार ‘हेत निउव्सब्लाड’सँग कुरा गर्दै उनले आफूलाई आफ्नो भान्डेनकेर्कहोभ थरप्रति गर्व रहेको बताएका थिए ।

उनका अनुसार उक्त थर त्याग्नु आफ्नी आमाले आफूका लागि गरेको योगदानप्रति विश्वासघातजस्तो हुने थियो ।

१६ वर्षको उमेरमा थाहा पाए कि प्रिन्स लोरेन्ट नै उनका जैविक पिता

भान्डेनकेर्कहोभको जन्मसँग जोडिएको रहस्य धेरै वर्षसम्म लुकेको थियो। गत सेप्टेम्बरमा बेल्जियमको टेलिभिजन नेटवर्क भीटीएमबाट प्रसारित एक वृत्तचित्रमा उनले पहिलोपटक सार्वजनिक रूपमा प्रिन्स लोरेन्ट आफ्नो जैविक पिता भएको पुष्टि गरेका थिए।

भान्डेनकेर्कहोभको जन्म अगस्ट २००० मा बेल्जियमकी गायिका तथा सामाजिक व्यक्तित्व वेन्डी भान भान्टनको घरमा भएको थियो । उनको वास्तविक नाम आइरिस भान्डेनकेर्कहोभ हो जसको प्रिन्स लोरेन्टसँग सन् १९९० को दशकमा चर्चित सम्बन्ध रहेको थियो । दुवैको भेट पेरिसमा आयोजित एउटा फेसन शोका क्रममा भएको थियो । पछि लोरेन्टले सन् २००३ मा प्रिन्सेस क्लेयरसँग विवाह गरेका थिए ।

भान्डेनकेर्कहोभले वृत्तचित्रमा आफू १६ वर्षको हुँदा आमाले पहिलोपटक प्रिन्स लोरेन्ट नै आफ्नो जैविक पिता भएको जानकारी दिएको बताएका छन् ।

चार वर्षपछि आफैंले पितालाई फोन गरे

आफ्नो वास्तविक पिताबारे थाहा पाएको करिब चार वर्षपछि भान्डेनकेर्कहोभले साहस जुटाएर लोरेन्टलाई फोन गरेका थिए । त्यसपछि उनीहरूबीच सम्पर्क बढ्दै गयो र अन्ततः दुवैले डीएनए परीक्षण गराए ।

डीएनए परीक्षणमा उनीहरूबीच ९९.५ प्रतिशत जैविक मेल देखिएको थियो। भीटीएमसँग कुरा गर्दै भान्डेनकेर्कहोभले डीएनए परीक्षणको समय सम्झिँदै आफूहरू सँगै अस्पताल गएको बताएका छन् । उनका अनुसार लोरेन्टले आफूलाई सहज महसुस गराउन पहिले आफूले परीक्षण गराउने बताएका थिए।

त्यसपछि प्रिन्स लोरेन्टले पनि सार्वजनिक रूपमा भान्डेनकेर्कहोभलाई आफ्नो जैविक छोरा स्वीकार गरेका थिए । लोरेन्टका अनुसार पछिल्ला केही वर्षदेखि उनीहरूबीच व्यक्तिगत रूपमा कुराकानी हुँदै आएको थियो ।

सन् २०१३ मै अनजानमा भेट भइसकेको थियो

यो घटनाको अर्को रोचक पक्ष पनि छ। भान्डेनकेर्कहोभले सन् २०१३ मा एउटा किनमेल केन्द्रमा प्रिन्स लोरेन्टलाई भेटिसकेका थिए । तर त्यतिबेला आफ्नो अगाडि उभिएको व्यक्ति नै आफ्नो जैविक पिता भएको उनलाई कुनै जानकारी थिएन।

राजपरिवारमा प्रवेश गर्नुअघि कार बेच्थे

शाही परिवारसँगको सम्बन्ध सार्वजनिक हुनुअघि भान्डेनकेर्कहोभको जीवन सामान्य थियो । ‘हेत निउव्सब्लाड’का अनुसार उनी डेनाइजस्थित एउटा ओपल कार डिलरमा बिक्री प्रतिनिधिका रूपमा काम गर्थे ।

उनले ग्राफिक डिजाइनको अध्ययन गरेका छन् । उनलाई तीव्र गतिका कार र घोडाप्रति विशेष रुचि रहेको बताइएको छ । केही समयअघिसम्म ग्राहकलाई कार बेचिरहेका भान्डेनकेर्कहोभको जीवन अहिले अचानक बेल्जियमको राजपरिवारसँग जोडिएको छ।

बेल्जियमको शाही परिवारमा यस्तो पहिलोपटक भएको  होइन

भान्डेनकेर्कहोभको कथा बेल्जियमको शाही परिवारमा रहेको अर्को पुरानो पितृत्व विवादसँग पनि जोडिएको छ । उनका पिता प्रिन्स लोरेन्टका आफ्नै पिता तथा बेल्जियमका पूर्वराजा अल्बर्ट द्वितीयले पनि वर्षौँसम्म पितृत्वसम्बन्धी कानुनी विवाद सामना गरेका थिए।

अल्बर्ट द्वितीयले अन्ततः सन् २०२० मा विवाहबाहिरको सम्बन्धबाट आफ्नो एक छोरी जन्मिएको स्वीकार गरेका थिए । ती छोरी डेल्फिन बोएल हुन्, जो अहिले ५८ वर्षकी छन् । डेल्फिनले आफ्नो कानुनी अधिकारका लागि लामो समय सङ्घर्ष गरेपछि अन्ततः उनलाई राजकुमारीको दर्जा प्रदान गरिएको थियो । अहिले उनी डेल्फिन डी स्याक्स–कोबर्ग नाम प्रयोग गर्छिन्।