युएई जाने तथा बसोबास गर्ने नेपालीलाई महावाणिज्यदूतावासको महत्वपूर्ण आग्रह

आप्रवासन आप्रवासन

 

 नेपाली महावाणिज्यदूतावास, दुबईले रोजगारीका लागि युएईको दुबई तथा अन्य उत्तरी इमिरेट्समा जाने र बसोबास गरिरहेका नेपाली नागरिकका लागि दुई महत्वपूर्ण विषयमा सचेतनामूलक सूचना जारी गरेको छ।

महावाणिज्यदूतावासका अनुसार युएईमा कार्यरत नेपाली नागरिक सम्पर्कविहीन भएको वा थुनामा परेको भन्दै नेपालस्थित परिवारजनबाट दैनिक जसो रूपमा खोजी तथा उद्धारका लागि अनुरोध आउने गरेको छ। तर अधिकांश अवस्थामा आवश्यक कागजात उपलब्ध नहुँदा खोजी कार्य कठिन हुने गरेको बताइएको छ।

दूतावासले रोजगारीका लागि युएई आउनुअघि आफ्नो राहदानी, भिसा तथा श्रम स्वीकृतिको स्पष्ट प्रतिलिपि परिवारलाई सुरक्षित राख्न अनुरोध गरेको छ। साथै युएई आएपछि आफू कार्यरत कम्पनीको नाम, ठेगाना, सम्पर्क व्यक्ति, बसोबास गर्ने क्याम्पको विवरण, क्याम्प प्रमुखको सम्पर्क नम्बर तथा इमिरेट्स आइडीको प्रतिलिपि समेत परिवारलाई उपलब्ध गराउन आग्रह गरेको छ।

त्यसैगरी, नेपाली नागरिकको नाममा रहेको मोबाइल सिम कार्ड वा इमिरेट्स आइडी अरूले दुरुपयोग गरी आर्थिक तथा कानुनी समस्यामा पारेका घटनाहरू बढिरहेको दूतावासले जनाएको छ। बैंकबाट ऋण मिलाइदिने, भिसा लगाइदिने वा नेपाल पैसा पठाइदिने जस्ता प्रलोभनमा पारेर केही व्यक्तिले इमिरेट्स आइडीको दुरुपयोग गरेको पाइएको उल्लेख गरिएको छ।

721248679_122153853188992019_1719887714283366172_n

दूतावासले आफ्नो इमिरेट्स आइडी, मोबाइल सिम, बैंक कार्ड नम्बर, ओटीपी तथा अन्य व्यक्तिगत विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ। बैंक कर्मचारीको नाममा फोन गरी व्यक्तिगत विवरण माग्ने ठगीका घटनाबाट समेत सचेत रहन अनुरोध गरिएको छ।

साथै, आफ्नो बैंक खातामा स्रोत नखुलेको रकम जम्मा भएको थाहा पाएमा तत्काल सम्बन्धित बैंकलाई जानकारी गराउनुपर्ने दूतावासले जनाएको छ। अन्यथा कानुनी कारबाहीमा पर्न सकिने चेतावनी दिइएको छ।

महावाणिज्यदूतावासले उक्त सूचनालाई जनहितका लागि बढीभन्दा बढी प्रचार–प्रसार गरिदिन युएईस्थित नेपाली समुदाय, सञ्चारकर्मी तथा सरोकारवालासँग अनुरोध गरेको छ।