ओमानको खाडीमा अमेरिकी सेनाले गरेको आक्रमणपछि हराइरहेका ३ जना भारतीय नाविकको मृत्यु भएको पुष्टि भएको छ । भारतका जलमार्गमन्त्री सर्वानन्द सोनोवालले बिहीबार उक्त जानकारी दिएका हुन् ।
अमेरिकाले इरानबाट तेल बोकेको र आफ्नाे निर्देशन नमानेको भन्दै उक्त ट्याङ्करमाथि ‘निसाना’ लगाएको बताएको थियो । घटनापछि भारतमा तीव्र प्रतिक्रिया देखिएको छ । नयाँ दिल्लीले अमेरिकी दूतावासका उपप्रमुखलाई बोलाएर घटनाबारे स्पष्टीकरण मागेको छ ।
ट्याङ्करमा कार्यरत ३ जना भारतीय नागरिक आक्रमणपछि बेपत्ता भएका थिए । खोजी अभियानका क्रममा उनीहरूको मृत्यु भएको पुष्टि भएपछि भारत सरकारले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । भारतीय अधिकारीहरूले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको विस्तृत विवरण र आक्रमणको परिस्थितिबारे अमेरिकासँग थप जानकारी मागिएको बताएका छन् ।