हवाई क्षेत्र खुलेपछि कुवेत एयरवेजले उडान पुनः सुरु , प्रभावित यात्रुका लागि तालिका मिलाइँदै

आप्रवासन आप्रवासन

कुवेत सिटी । कुवेतको हवाई क्षेत्र पुनः खुलेसँगै कुवेत एयरवेजले आफ्ना सबै प्रस्थान र आगमन उडानहरू पुनः सुरु गरेको छ। सम्बन्धित निकायको निर्देशनपछि सामान्य हवाई आवागमन फर्किएको र त्यसैअनुसार सेवा सञ्चालन गरिएको एयरलाइन्सले जनाएको छ।

कुवेत एयरवेजका अनुसार बिहीबार बिहान ४:५० बजे यात्रु र हवाई सुरक्षालाई ध्यानमा राख्दै सावधानीस्वरूप हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो। पछि परिस्थितिमा सुधार आएपछि हवाई क्षेत्र पुनः सञ्चालनमा ल्याइएको हो।

एयरलाइन्सले बन्दका कारण प्रभावित भएका उडानहरूलाई अहिले पुनः तालिकाबद्ध गर्ने काम भइरहेको जनाएको छ। साथै, स्वीकृत समयतालिकाअनुसार नै उडान सञ्चालन जारी रहने बताइएको छ।

कुवेत एयरवेजले बिहीबार यात्रा गर्ने यात्रुहरूलाई विशेष सहुलियत पनि दिएको छ। सो दिनका यात्रुहरूलाई टिकट परिवर्तन वा रद्द गर्दा लाग्ने शुल्कबाट छुट दिइने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले यात्रुहरूलाई देखाएको धैर्य र सहयोगका लागि धन्यवाद दिँदै सुरक्षा र सेवाको गुणस्तर आफ्नो प्रमुख प्राथमिकता रहने दोहोर्‍याएको छ। उडानबारे थप जानकारीका लागि यात्रुहरूले कुवेतभित्र १७१, विदेशबाट +965 2434 5555 ext. 171, वा WhatsApp नम्बर +965 1802 050 मा सम्पर्क गर्न सक्नेछन्। ट्राभल एजेन्टमार्फत पनि जानकारी लिन सकिनेछ।

यसैबीच, कुवेतको Directorate General of Civil Aviation ले पनि हवाई क्षेत्रलाई अस्थायी रूपमा बन्द गरिनुको कारण बनेको अवस्था सुधारिएसँगै हवाई आवागमन सामान्य अवस्थामा फर्किएको पुष्टि गरेको छ।