दिल्लीमा ४३.५ डिग्री सेल्सियस, तर किन हुन्छ ६४ डिग्रीको गर्मी ?

आप्रवासन आप्रवासन

 

भारतीय राजधानी दिल्ली केही सातायता प्रचण्ड गर्मीसँग जुधिरहेको छ । हरेक दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगिरहेको छ । मौसमसम्बन्धी एपहरूले भने ‘रियल फिल’ अर्थात् शरीरले महसुस गर्ने तापक्रम प्रायः वास्तविक तापक्रमभन्दा बढी नै देखाइरहेका छन् । सडकमा निस्किँदा वास्तवमै अत्यधिक गर्मी महसुस हुन्छ । 

मंगलबार भारत मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्लीको अधिकतम तापक्रम ४३.५ डिग्री सेल्सियस रेकर्ड गरेको थियो । तर थर्मल क्यामेरासहित दिनभरि सहरका विभिन्न स्थानमा गरिएको अवलोकनले भने केही स्थानमा सतहको तापक्रम ६४ डिग्री सेल्सियससम्म पुगेको देखाएको छ ।

यी दुई मापनलाई प्रत्यक्ष रूपमा तुलना गर्न त मिल्दैन । आईएमडीको आधिकारिक तथ्यांकको मानक त्यस अवस्थाअन्तर्गत मापन गरिएको हावाको तापक्रम हो भने थर्मल क्यामेराले भने सतहको तापक्रम मापन गर्छ ।
गर्मीका दिनमा सडक, कङ्क्रिट, सवारीसाधन र घाम परेका अन्य सतहहरू वरपरको हावाभन्दा धेरै नै तात्न सक्छन् । यस्ता उच्च सतही तापक्रमले विकिरणमार्फत मानव शरीरले सोस्ने ताप बढाउँछ । र, विशेषगरी छायाँ वा हरियाली कम भएका शहरी क्षेत्रमा आधिकारिक तापक्रमभन्दा धेरै बढी गर्मी महसुस हुने गर्छ । 

व्यस्त ट्राफिक चोकमध्ये एक दक्षिण दिल्लीको आईआईटी फ्लाइओभरबाट दैनिक लाखौं सवारीसाधन गुज्रिन्छन् । त्यहाँ व्यस्त समयमा चालकहरूले१० मिनेटसम्म ट्राफिक सिग्नलमा कुर्नुपर्छ ।

ग्रीनपिसकी अनुसन्धानकर्ता निवेदिता साहले फ्लाइओभरमुनिको छायाँयुक्त भागमा क्यामेरा तेर्साउँदा तापक्रम ४२ डिग्री सेल्सियस देखियो । तर उनले प्रत्यक्ष घाममा ट्राफिक सिग्नलमा रोकिएका मोटरसाइकल चालकतर्फ क्यामेरा घुमाउँदा तापक्रम ६४ डिग्री सेल्सियस पुगेको थियो । उनी उभिएको स्थानको सतह तापक्रम ६१ डिग्री सेल्सियस थियो । तर त्यहाँबाट १० फिटभन्दा कम दूरीमा रहेको रूखको छायाँमा जाँदा तापक्रम ३९.८ डिग्री सेल्सियसमा झर्‍यो । 

‘यति उच्च तापक्रममा निरन्तर बसिरहनु स्वास्थ्यका लागि गम्भीर जोखिम हुन सक्छ,’ निवेदिता भन्छिन् । ‘केही फिट मात्र सर्दा पनि ठुलो फरक पर्छ । हामीले तुरुन्तै राहत महसुस गर्‍यौँ । एउटा रूखले कति फरक पार्न सक्छ भन्ने यसको उदाहरण हो ।’

त्यस्तै फोक्सो रोग विशेषज्ञ डा. ए. फथाहुदिनका अनुसार मानव शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ र अत्यधिक गर्मीमा लामो समय रहँदा यो बढ्न सक्छ । ‘जब शरीरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्छ, शरीरले सामान्य रूपमा काम गर्न छोड्छ । यस्तोमा मानिस अत्यधिक पसिना आउने, टाउको दुख्ने र थकान महसुस गर्ने गर्छन्,’ उनले भने । उनका अनुसार गम्भीर अवस्थामा मानिस दिगभ्रमित हुन सक्छ, बेहोसजस्तै हुन सक्छ र मुर्छासमेत पर्न सक्छ । ‘समयमै उपचार नभएमा धेरै अंगले काम गर्न छोड्न सक्छन् र मृत्यु पनि हुन सक्छ,’ उनी चेतावनी दिन्छन् ।

गर्मीको लहरका बेला सुरक्षित रहन डा. फथाहुदिनले तिर्खा नलागे पनि पानी पिउन, खुकुला र हल्का रङका कपडा लगाउन तथा छाता प्रयोग गर्न सुझाव दिन्छन् । उनका अनुसार सरकारले पनि मजदुरहरूलाई बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म खुला स्थानमा काम नगर्ने सल्लाह दिनुपर्छ । तर दिल्लीका गरिब नागरिकका लागि यस्तो सुविधा सम्भव छैन ।

पुरानो दिल्लीस्थित ऐतिहासिक लाल किल्ला क्षेत्रमा सडक किनारमा व्यापार गर्ने बिक्रेताहरू देखिन्थे । असह्य गर्मीका बाबजुद केही ग्राहक, तीर्थयात्री र पर्यटकहरू देखिन्थे । बिक्रेताहरूले ग्राहक भेटिने आशामा पसल सजाएर बसेका थिए । फुटपाथमा सुक्खा फलफूल बेच्ने सञ्जना बेनले भन्छिन्, ‘हामीजस्ता गरिब मानिससँग अर्को विकल्प नै के छ र ?’

उनी पातलो कपडा ओछ्याएर बसेकी थिइन् । अगाडि काजु, बदाम, किसमिस, ओखर र सुक्खा अञ्जिरका साना बोरा राखिएका थिए । थर्मल क्यामेराले उनको अनुहारमा करिब ४० डिग्री सेल्सियस तापक्रम देखायो । तर जमिनतर्फ क्यामेरा झर्दै जाँदा तापक्रम ५१.४ डिग्री सेल्सियस र केही इन्च टाढा ५७ डिग्री सेल्सियससम्म पुगेको थियो । ‘कहिलेकाहीँ टाउको घुम्छ र आँखा धमिलो हुन्छ । जमिन धेरै तातो लाग्दा केही बेर उठेर उभिन्छु । तर कति बेर उभिरहन सकिन्छ र ? फेरि बस्नै पर्छ,’ उनले भनिन् । 

नजिकै जुत्ता बेच्ने मोहम्मद महफुज आलमका अनुसार यस्ता दिनमा कुनै राहत मिल्दैन । ‘तलबाट जमिनको ताप आउँछ, माथिबाट घामले पोल्छ, दिन होस् वा रात, आराम छैन । शरीर सुस्त हुन्छ, खुट्टा दुख्छन् । घर पुग्दा पूर्ण रूपमा थाकेको हुन्छु । नुहाएपछि पनि निद्रा लाग्दैन । पङ्खाले तातो हावा फाल्छ र रातभरि यताउता पल्टिरहनुपर्छ,’ उनले भनिन् ।

उनका अनुसार पछिल्ला वर्षहरूमा दिल्लीको मौसम निकै परिवर्तन भएको छ । ‘गर्मी, जाडो र वर्षा सबै अनियमित भएका छन् । यसको मार विशेषगरी सडकमा बस्ने र काम गर्ने हामीजस्ता मानिसहरूलाई बढी परेको छ ।’

उनले पछाडिको रूखतर्फ देखाउँदै भने, ‘यो रूख नभएको भए म यहाँ बस्नै सक्दिनथेँ । जुन दिन यो रूख हट्छ, सबै सकिन्छ ।’ निवेदिताको क्यामेराले आलम वरपरको क्षेत्र मापन गर्दा तापक्रम ४० डिग्री सेल्सियसबाट बढेर ५८.६५ डिग्री सेल्सियस पुगेको थियो । उनको काँधमा भने ४४.८ डिग्री सेल्सियस तापक्रम देखिएको थियो । 

लाल किल्लाबाट केही मिनेटको पैदल दूरीमा रहेको चाँदनी चोक हजारौँ पसल र खानाका स्टलले भरिएको क्षेत्र हो । केही वर्षअघि यस मुख्य मार्गलाई पैदलमार्ग बनाइएको थियो र मानिसहरूलाई विश्राम लिन ढुङ्गाका साना स्तम्भहरू निर्माण गरिएका थिए । तर छायाँको अभावका कारण ती लगभग प्रयोगविहीन छन् ।

मोबाइल हेर्दै कङ्क्रिटको स्तम्भमा बसेका एक युवा खेलौना बिक्रेता बसेको स्तम्भको तापक्रम ५६.९ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । पूर्वी दिल्लीको सीलमपुर क्षेत्रस्थित सुन्दर नगर बस्तीको प्रवेशद्वारमा रहेको कङ्क्रिटको बेन्चको तापक्रम ५१.६ डिग्री सेल्सियस थियो । दिल्लीमा अहिले अत्यधिक गर्मीले शरीर, निद्रा, आम्दानी र दैनिक जीवनमा असर पारिरहेको छ । उक्त ठाउँमा एउटा घरबाहिर तापक्रम ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो, घरभित्रको तापक्रम पनि खासै फरक थिएन । भित्तानजिकको र्‍याकमा राखिएका थाल, गिलास र कचौरातर्फ क्यामेरा तेर्साउँदा तापक्रम करिब ४० डिग्री सेल्सियस नै देखिएको थियो । घरभित्र तातो हावा बाहिर निस्कने कुनै झ्याल वा निकास थिएन । छतको सानो पङ्खाले तातो हावालाई मात्रै घुमाइरहेको थियो । 

त्यस घरकी बासिन्दा भन्छिन्, ‘धेरै गर्मी हुँदा वाकवाकी लाग्छ । न बाहिर जान सकिन्छ, न भित्र बस्न ।’

यस साताको गर्मीले आम मानिसको दैनिक जीवन बदलिदिएको छ । सबै ढिलो घर फर्कन्छन् र कोही राम्ररी निदाउन पाउँदैनन् । बिहान खाना पकाउँदा पङ्खा बन्द गर्नुपर्छ र गर्मी असह्य हुन्छ । घरको काम गर्न कठिन हुन्छ, पहिलेभन्दा धेरै थकाइ लाग्छ । 

आम मानिसका लागि दिन त जसोतसो बित्छ, तर रात सबैभन्दा कठिन हुन्छ । एक स्थानीय भन्छन्, ‘मैले कपाल छोटो काटेको छु । बारम्बार उठेर अनुहार धुन्छु । टी–सर्ट खोल्छु । तर पनि राति निदाउन सक्दिनँ । बाहिर कम्तीमा हावा चल्छ, तर घरभित्र भने मलाई भट्टीनजिकै उभिएको जस्तो महसुस हुन्छ ।’