इरानको राजधानी तेहरानमा पेट्रोल अभाव हुन थालेपछि विभिन्न पेट्रोल पम्पमा लामो लाइन देखिन थालेको छ ।
केही पम्पमा पेट्रोल सकिएपछि अस्थायी रूपमा सेवा बन्द गर्नुपरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानमाथि जारी युद्धका क्रममा तेल भण्डारण तथा वितरण पूर्वाधारमा भएको क्षति, अमेरिकी नाकाबन्दी र मुद्रास्फीति बढ्ने त्रासका कारण पेट्रोलको माग अचानक बढेको बताइएको छ ।
इरानी समाचार संस्था रोक्नाका अनुसार तेहरानका केही पेट्रोल पम्पमा पेट्रोल नै नभएपछि बन्द गर्नुपरेको छ भने अन्य पम्पमा सोमबार र मंगलबार लामो लाइन देखिएको थियो । अर्को समाचार संस्था तबनाकले पनि पूर्वी र दक्षिणी तेहरानका केही क्षेत्रमा पेट्रोलको उपलब्धता सीमित भएको जनाएको छ ।
सामाजिक सञ्जालमा तेहरानका उत्तरी तथा सहरी क्षेत्रका केही पेट्रोल पम्पमा समेत पेट्रोल नपाइएको दाबी गरिएका छन् । राजधानीबाहिर मजन्दरान र फार्स प्रान्तमा डिजेल तथा पेट्रोल अभाव भएको विवरण पनि सामाजिक सञ्जालमा आएका छन्। यद्यपि यी विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।
इरानको राष्ट्रिय तेल उत्पादन वितरण कम्पनी (एनआईओपीडीसी)ले भने देशभरको इन्धन आपूर्ति प्रणाली स्थिर रहेको दाबी गरेको छ ।
कम्पनीका अनुसार अभाव र पेट्रोल पम्पमा देखिएको लामो लाइनको मुख्य कारण इन्धन अभाव हुने हल्लापछि सर्वसाधारणले ठूलो परिमाणमा पेट्रोल भण्डारण गर्न थालेको र केही ठाउँमा इन्धन आपूर्तिमा भएको ढिलाइ हो । कम्पनीले उत्पन्न समस्या केही दिनभित्रै समाधान हुने जनाएको छ । तेहरान क्षेत्रका एनआईओपीडीसी निर्देशकका अनुसार युद्धका क्रममा राजधानीमा पेट्रोलियम पदार्थको भण्डारण तथा वितरण पूर्वाधारमा पुगेको क्षतिले भने इन्धन वितरणमा केही समस्या सिर्जना गरेको छ ।