भारतमा अब डाक्टरको प्रेस्क्रिप्सनबिना कफ सिरप किन्न नपाइने

आप्रवासन आप्रवासन

 

भारत सरकारले कफ सिरप अब डाक्टरको प्रेस्क्रिप्सनबिना किन्न नपाइने व्यवस्था ल्याएको छ ।

गत वर्ष विषाक्त सिरपका कारण मध्यप्रदेशमा २६ जना बालबालिकाको मृत्यु भएपछि भारतले औषधि खरिद तथा बिक्रीसम्बन्धी नियमहरू कडा पारेको हो । नयाँ व्यवस्थाअनुसार सिरपलाई अब ड्रग्स रुल्स, १९४५ अन्तर्गतको अनुसूची–केबाट हटाइएको छ । यस सूचीमा पहिले केही औषधिहरूलाई सीमित नियममा छुट दिइएको थियो, जसका कारण तिनलाई सामान्य पसलबाट पनि सजिलै किन्न सकिन्थ्यो ।

सरकारका अनुसार यो परिवर्तनले सिरपको अनुगमन, गुणस्तर नियन्त्रण र निगरानी प्रणाली अझ बलियो बनाउनेछ। अब सिरप उत्पादन गर्ने कम्पनी र बिक्री गर्ने विक्रेताले कडा लाइसेन्स र गुणस्तर मापदण्ड पालना गर्नुपर्नेछ । यो निर्णय लागु गर्नुअघि औषधि प्राविधिक सल्लाह बोर्डसँग परामर्श गरिएको र सार्वजनिक सुझाव पनि मागिएको सरकारले जनाएको छ ।

मध्यप्रदेशमा अक्टोबर २०२५ मा दूषित खोकी सिरप सेवनपछि २६ बालबालिकाको मृत्यु भएको घटना सार्वजनिक भएपछि सरकारमाथि औषधि सुरक्षाबारे प्रश्न उठेको थियो ।

यसअघि पनि केही वर्षयता भारतीय कफ सिरपलाई लिएर अन्तर्राष्ट्रियस्तरमा चिन्ता व्यक्त गरिएको थियो । अफ्रिकी देशहरू र उज्बेकिस्तानमा यस्तै औषधिका कारण बालबालिकाको मृत्युका घटना भएपछि भारतले निर्यात र उत्पादन दुवैमा कडा निगरानी सुरु गरेको थियो ।

सरकारले २०२२–२३ यता सिरप निर्यातअघि सरकारी प्रयोगशालामा अनिवार्य परीक्षण लागु गरेको थियो । साथै औषधि उत्पादन इकाइका लागि गुड म्यानुफ्याक्चरिङ प्राक्टिस मापदण्ड पनि कडा पारिएको थियो । 

नयाँ व्यवस्थाअनुसारः

–सिरप औषधि अब बिना प्रेस्क्रिप्सन बिक्री गर्न पाइने छैन ।

–उत्पादन र बिक्रीमा कडा लाइसेन्स तथा गुणस्तर नियम लागू हुनेछ ।

–राज्य र केन्द्रका औषधि नियन्त्रण निकायबाट संयुक्त निरीक्षण बढाइनेछ ।