युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादोमिर पुटिनसँग युद्ध अन्त्य गर्ने उद्देश्यले भेटवार्ता गर्न आफूले प्रस्ताव गरेको बताएका छन् ।
उनले यस साता फ्रान्समा हुने जी–७ शिखर सम्मेलनका क्रममा वा आवश्यक परे संयुक्त राज्य अमेरिकामै पनि पुटिनसँग भेटवार्ता गर्न प्रस्ताव गरेको जनाएका हुन् ।
किभमा एक ऐतिहासिक मठमा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुसको आक्रमणमा क्षतिग्रस्त भएको स्थानबाट सम्बोधन गरेका थिए । ‘हामीले सन्देश दिएका छौँ कि जी–७ को अवसरमा पुटिनसँग भेट्न हामी तयार छौँ, किनकि त्यहाँ ट्रम्प पनि हुनेछन्, म्याक्रोँ पनि हुनेछन् । यो सबै पक्षबीच छलफलका लागि राम्रो अवसर हुन सक्छ,’ उनले भने ।
उनका अनुसार अमेरिका, युरोपेली देशहरू र फ्रान्स यस भेटका लागि सकारात्मक देखिएका छन् । तर रुसले भने हालसम्म स्पष्ट जवाफ नदिएको उनले बताए । जेलेन्स्कीले पछि टेलिग्राममा लेख्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको फोनवार्तामा पनि पुटिनसँग अमेरिकामा भेट गर्ने सम्भावनाबारे छलफल भएको बताएका छन् ।
उनका अनुसार यस्तो स्थान छनोट गर्दा पुटिनलाई वार्ताबाट टाढा रहन कठिन हुने विश्वास लिइएको छ ।
तर रुसले वार्तामा आउन अनिच्छा देखाइरहेको आरोप उनले लगाए । ‘रुसले यो अवसर पनि अस्वीकार गर्छ भने थप दबाब आवश्यक हुनेछ,’ उनले भने । युक्रेनी अधिकारीका अनुसार जी–७ भेटवार्ताको प्रस्ताव अमेरिकासँगै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई पनि जानकारी गराइएको थियो, तर रुसले यसबारे कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन । जेलेन्स्कीले पुटिनलाई पनि सार्वजनिक रूपमा प्रत्यक्ष वार्ताका लागि आह्वान गरेका थिए । तर पुटिनले त्यस्तो भेटको आवश्यकता नरहेको प्रतिक्रिया दिए ।
आप्रवासन