विद्युत् आपूर्ति बन्द

विद्युत् बिना केही सेकेन्डमै अस्तव्यस्त बन्यो स्पेनको जनजीवन

आप्रवासन आप्रवासन

आजको दैनिकी हामी यति धेरै बिजुलीमा निर्भर छौँ कि यसको बिना केही पल पनि सामान्य हुँदैन । तर स्पेन र पोर्चुगलका हजारौँ मानिसहरूले त्यो कल्पना मात्र हैन, वास्तविकता जस्तै भोगे ।

एकाएक सोमबार, ती दुई देशमा विद्युत् आपूर्ति बन्द भयो मानौँ समय नै रोकिएको जस्तो । रेल एकाएक रोकियो । मोबाइलहरू नेटवर्कविहीन भए, इन्टरनेट पनि चलेन अनि एटिएमले पनि काम गरेन ।

प्रत्येक श्वासमा प्रविधि जोडिएको जस्तो यो युगमा विद्युत् आपूर्ति बिना मानिसको जीवन अस्तव्यस्त बन्ने रहेछ । ११ घण्टा लामो यो सकसलाई चिर्दै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जनतालाई सम्बोधन गर्दै भने, हामीले पहिले यस्तो स्थिति कहिल्यै अनुभव गरेका थिएनौँ ।

 रातभर सङ्घर्षपछि मात्र देशले आधा विद्युत् आपूर्ति फर्काउन सक्यो । अनि आश्वासन दिइयो, मङ्गलवार सम्म सबै ठाउँमा फेरि बत्ती बल्नेछ । सोमबार दिउँसो १२:३३ मा, केबल ५ सेकेन्डको अन्तरालमा, स्पेनले आफ्नो कुल राष्ट्रिय विद्युत् मागको ६० प्रतिशत झन्डै १५ गिगावाट विद्युत् आपूर्ति गुमाएको थियो ।

यो एउटा सानो गडबडी थिएन, यो त मानौँ मुल आधार नै भत्किएको जस्तो थियो । बिजुली वितरण कम्पनी रेड इलेक्ट्रिकका प्रमुख एडुआर्डो प्रियेटोले यसलाई असाधारण घटना भएको भने । हाल देशभर ८२ प्रतिशत विद्युत् आपूर्ति भइरहेको पनि अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । 

तर यस घटनाले एउटा ठुलो प्रश्न छाडिदिएको छ । के हामी यति निर्भर बनिसकेका छौँ कि एक पलको अन्धकारले सिङ्गो जीवन नै ठप्प पार्न सक्छ ।