अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीमाथिको धरपकडलाई थप तीव्र बनाउने सघाउने गरी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले सोमबार ३ वटा आदेशमा हस्ताक्षर गरेका हुन जसमध्येको एक आप्रवासीसँग सम्बन्धित छ । सो आदेशले महान्यायाधिवक्ता पाम बोन्डी र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोमलाई आप्रवासीहरूलाई संरक्षण प्रदान गर्ने राज्य र स्थानीय क्षेत्रहरूको सूची प्रकाशित गर्न निर्देशन जारी गरेको छ ।
यस्तै, त्यस्ता राज्य र स्थानीय क्षेत्रलाई के कस्तो कारबाही गर्न सकिन्छ भनेर अध्ययन गरी ३० दिन भित्र प्रतिवेदन दिन समेत भनिएको छ । यस अन्तर्गत कागजातविहीन आप्रवासीलाई पक्राउ गर्ने सङ्घीय अधिकारीहरूको प्रयासलाई असहयोग गर्ने वा सीमित मात्रामा मात्र सहयोग गर्ने राज्य र स्थानीय क्षेत्रहरूको सूची तयार गरिनेछ ।
त्यसपश्चात् तीनले सङ्घीय कोष तथा सहायता कटौती गर्ने योजना छ । त्यस्तै ती राज्य तथा क्षेत्रहरूले निर्देशन पालना नगरेसम्म कानुनी कारबाहीको सामना गर्नुपर्ने समेत हुन सक्छ ।
आप्रवासी पक्राउ र देश निकालामा विभिन्न राज्य र स्थानीय क्षेत्रहरूबाट बारम्बार अवरोध आएको भन्दै ट्रम्पले पछिल्लो कार्यकारी आदेश जारी गरेका हुन् । पछिल्लो आदेशसँगै अमेरिकाभित्र आप्रवासी विरुद्धको धरपकडले थप गति लिने अपेक्षा छ ।