साउदी अरेबियामा विदेशी श्रमिकको वर्क परमिट नियमित गर्ने म्याद २०२६ अन्त्यसम्म थपियो

संगम पहरी संगम पहरी

साउदी अरेबियाले विदेशी श्रमिक र रोजगारदातालाई राहत दिने निर्णय गर्दै वर्क परमिट (Work Permit) सम्बन्धी अवस्था नियमित (Rectification) गर्ने म्याद सन् २०२६ को अन्त्यसम्म बढाएको छ। यसअघि जुन ३० सम्म तोकिएको म्याद सकिनै लाग्दा मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (MHRSD) ले थप समय दिने घोषणा गरेको हो।

यो निर्णय विशेषगरी दुई समूहका विदेशी श्रमिकलाई लक्षित गरिएको छ।

  • वर्क परमिटको म्याद सकिएको १२ महिनाभन्दा बढी भइसकेका श्रमिक।
  • कुनै कम्पनीमा काम सुरु गरेको ६ महिनाभन्दा बढी भए पनि अहिलेसम्म वर्क परमिट जारी नगरिएका श्रमिक।

मन्त्रालयका अनुसार म्याद थप्नुको उद्देश्य रोजगारदाता र श्रमिकलाई कानुनी प्रक्रिया पूरा गर्न थप अवसर उपलब्ध गराउनु, श्रम बजारमा कानुनी पालना (Compliance) बढाउनु तथा दुवै पक्षको अधिकार संरक्षण गर्नु हो। पछिल्ला महिनाहरूमा धेरै कम्पनी र श्रमिकले आफ्नो अवस्था नियमित गर्न थालेकाले उनीहरूलाई थप समय दिइएको मन्त्रालयले जनाएको छ।

साउदी सरकारले रोजगारदाता तथा विदेशी श्रमिकलाई वर्षको अन्त्यअघि नै वर्क परमिट नवीकरण वा नयाँ वर्क परमिट जारी गर्ने प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र अवस्था नियमित नगरे कानुनअनुसार आवश्यक कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

नेपाली श्रमिकका लागि किन महत्त्वपूर्ण?

साउदी अरेबिया नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगारी गन्तव्यमध्ये एक हो। निर्माण, सेवा, उद्योग, सुरक्षा तथा अन्य विभिन्न क्षेत्रमा हजारौं नेपाली कार्यरत छन्। वर्क परमिट समयमै नवीकरण नहुँदा वा जारी नभए श्रमिकको कानुनी हैसियत, रोजगारी निरन्तरता तथा अन्य श्रम अधिकारमा समस्या आउन सक्ने भएकाले यो निर्णय नेपाली श्रमिकका लागि पनि महत्त्वपूर्ण मानिएको छ।

श्रम विज्ञहरूका अनुसार साउदीमा कार्यरत नेपाली श्रमिकले आफ्नो वर्क परमिट र इकामा (Iqama) को अवस्था नियमित रूपमा जाँच गर्नुपर्ने तथा कुनै समस्या देखिए रोजगारदातासँग तत्काल समन्वय गरी तोकिएको समयभित्र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

साउदी सरकारले पछिल्ला वर्षहरूमा श्रम बजारलाई व्यवस्थित बनाउने, डिजिटल प्रणालीमार्फत वर्क परमिट व्यवस्थापन गर्ने तथा कानुनी पालना कडाइका साथ लागू गर्ने नीति अघि बढाउँदै आएको छ। यही अभियानअन्तर्गत सरकारले म्याद थपेर रोजगारदाता र विदेशी श्रमिकलाई अन्तिम अवसर प्रदान गरेको जनाएको छ।