अस्ट्रेलियाले फेरि बढायो विद्यार्थी भिसा शुल्क, तीन वर्षमा ७१० डलरबाट २,५०० डलर पुग्यो

संगम पहरी संगम पहरी

उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने तयारीमा रहेका हजारौं नेपाली विद्यार्थीलाई फेरि आर्थिक भार थपिएको छ। अस्ट्रेलिया सरकारले जुलाई १, २०२६ देखि विद्यार्थी भिसा (Subclass 500) आवेदन शुल्क २,००० अष्ट्रेलियन डलरबाट बढाएर २,५०० अष्ट्रेलियन डलर पुर्‍याएको छ। यो एकैपटक २५ प्रतिशत वृद्धि हो।
यो वृद्धि सामान्य वार्षिक समायोजन मात्र होइन। पछिल्ला तीन वर्षमा विद्यार्थी भिसा शुल्कमा भएको तीव्र वृद्धिले अस्ट्रेलिया विश्वकै सबैभन्दा महँगो विद्यार्थी भिसा प्रणालीमध्ये एक बनेको छ। शिक्षा क्षेत्रका विज्ञहरूले यो निर्णयले अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने अस्ट्रेलियाको प्रतिस्पर्धात्मक क्षमता कमजोर पार्ने चेतावनी दिएका छन्।
तीन वर्षमा शुल्क कहाँबाट कहाँ पुग्यो?
विद्यार्थी भिसा शुल्कको वृद्धि हेर्ने हो भने
•    जुन २०२४ सम्म : AUD 710
•    जुलाई २०२४ : AUD 1,600 (१२५ प्रतिशत वृद्धि)
•    जुलाई २०२५ : AUD 2,000
•    जुलाई २०२६ : AUD 2,500
अर्थात् केवल तीन वर्षमा विद्यार्थी भिसा शुल्क ७१० डलरबाट बढेर २,५०० डलर पुगेको छ, जुन करिब २५२ प्रतिशत वृद्धि हो।
ELICOS विद्यार्थीका लागि पहिलोपटक छुट्टै शुल्क
यसपटकको अर्को महत्त्वपूर्ण परिवर्तन ELICOS (English Language Intensive Courses for Overseas Students) अध्ययन गर्न जाने विद्यार्थीका लागि छुट्टै शुल्क निर्धारण गर्नु हो।
यसअघि उनीहरूले पनि सामान्य विद्यार्थीसरह २,००० डलर तिर्नुपर्थ्यो। अब उनीहरूका लागि छुट्टै २,०५० डलर शुल्क तोकिएको छ।
यद्यपि, अंग्रेजी भाषा शिक्षा क्षेत्रका संस्थाहरूले शुल्क ५० प्रतिशतसम्म घटाउन सरकारसँग माग गरेका थिए। तर सरकारले उल्टै ५० डलर थपेर २,०५० डलर कायम गरेको छ।
पढाइपछि बस्ने भिसा पनि झन् महँगो
विद्यार्थी भिसा मात्र होइन, अध्ययन पूरा गरेपछि अस्ट्रेलियामा काम गर्न पाइने Temporary Graduate Visa (Subclass 485) को शुल्क पनि ४,६०० डलरबाट बढाएर ५,७५० डलर पुर्‍याइएको छ।
यो चार महिनाभित्र दोस्रो पटक गरिएको वृद्धि हो। वर्षको सुरुतिर २,३०० डलर रहेको यही भिसा अहिले ५,७५० डलर पुगेको छ।
शिक्षा क्षेत्रको तीव्र विरोध
अस्ट्रेलियाका विश्वविद्यालय, भाषा शिक्षण संस्था र अन्तर्राष्ट्रिय शिक्षा संगठनहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
International Education Association of Australia (IEAA) का प्रमुख फिल हनीउडले यस्तो अचानक गरिएको शुल्क वृद्धिले प्रतिस्पर्धी देशहरूलाई फाइदा पुग्ने बताएका छन्।
उनका अनुसार "आज अस्ट्रेलियाका प्रतिस्पर्धी अध्ययन गन्तव्यहरूले खुसी मनाइरहेका छन्।"
त्यस्तै, English Australia ले २०२४ र २०२५ को शुल्क वृद्धिपछि अंग्रेजी भाषा अध्ययनका आवेदनमा ठूलो गिरावट आएको उल्लेख गर्दै नयाँ वृद्धि झन् गम्भीर हुने चेतावनी दिएको छ।
नेपाली विद्यार्थीलाई कस्तो असर?
अस्ट्रेलिया नेपाली विद्यार्थीको सबैभन्दा ठूलो अध्ययन गन्तव्यमध्ये एक हो।
तर पछिल्ला वर्षमा
•    भिसा शुल्क वृद्धि,
•    कडा भिसा मूल्याङ्कन,
•    जीवनयापन खर्च वृद्धि,
•    वित्तीय प्रमाणको कडाइ
जस्ता कारणले अस्ट्रेलियामा अध्ययन गर्न आवश्यक प्रारम्भिक बजेट उल्लेखनीय रूपमा बढेको छ।
अब नेपाली विद्यार्थीले विश्वविद्यालयको ट्युसन शुल्क, स्वास्थ्य बीमा, हवाई टिकट र बसोबास खर्चबाहेक भिसा आवेदनका लागि मात्रै २,५०० अष्ट्रेलियन डलर छुट्याउनुपर्ने भएको छ।
शिक्षा परामर्शदाताहरूका अनुसार नयाँ शुल्कले विशेषगरी मध्यम आय भएका नेपाली परिवारका विद्यार्थीमाथि थप आर्थिक दबाब सिर्जना गर्नेछ भने केही विद्यार्थी वैकल्पिक अध्ययन गन्तव्यतर्फ आकर्षित हुन सक्ने सम्भावना पनि बढेको छ।