दक्षिण कोरियाको ई–७ भिसा प्रक्रिया पुनः सुरु, अब म्यानपावर कम्पनीमार्फत पनि दक्ष नेपाली श्रमिक जान पाउने

संगम पहरी संगम पहरी

काठमाडौं। दक्षिण कोरियाको ई–७ (E-7) भिसाअन्तर्गत नेपाली दक्ष तथा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले असार १५ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार यसअघि रोकिएको प्रक्रिया पुनः सञ्चालनमा ल्याइएको हो।

मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै ई–७ भिसामा दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि आवश्यक कागजात प्रमाणीकरण तथा अन्य प्रशासनिक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ। मन्त्रालयले आफ्नो निर्णय कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको जनाएको छ।

मन्त्रालयका अनुसार यो निर्णय उच्च अदालत पाटनबाट विभिन्न समयमा जारी भएका अन्तरिम आदेश, नेपालस्थित दक्षिण कोरियाली दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा वैदेशिक रोजगार ऐन, २०६४ को व्यवस्थालाई आधार मानेर गरिएको हो। कानुनी र प्रशासनिक आधार स्पष्ट भएपछि प्रक्रिया पुनः सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

यस निर्णयसँगै अब इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी अर्थात् म्यानपावर कम्पनीमार्फत पनि दक्षिण कोरियामा ई–७ भिसामा दक्ष तथा प्राविधिक श्रमिक पठाउन सकिने भएको छ। यसअघि कानुनी विवादका कारण म्यानपावर कम्पनीमार्फत यो प्रक्रिया प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन। अब भने वैदेशिक रोजगार ऐन र प्रचलित कानुनबमोजिम म्यानपावर कम्पनीले रोजगारदाताबाट प्राप्त मागपत्रका आधारमा प्रक्रिया अघि बढाउन सक्ने भएका छन्।

मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सियोलस्थित नेपाली राजदूतावासलाई रोजगारदाताबाट प्राप्त डिमान्ड लेटर लगायत आवश्यक कागजात प्रमाणीकरण गरी कार्यसम्पादन गर्न अनुरोध गरेको छ। उक्त पत्रको बोधार्थ वैदेशिक रोजगार विभाग र दक्षिण कोरियास्थित नेपाली राजदूतावासलाई समेत पठाइएको छ।

ई–७ भिसा दक्षिण कोरियाले दक्ष तथा प्राविधिक जनशक्तिका लागि उपलब्ध गराउने रोजगार भिसा हो। यो रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत सञ्चालन हुने ई–९ भिसाभन्दा फरक व्यवस्था हो। ई–७ भिसामा श्रमिकको छनोट उनीहरूको सीप, अनुभव, शैक्षिक योग्यता र रोजगारदाताको आवश्यकता अनुसार हुने गर्दछ।

वैदेशिक रोजगार क्षेत्रका जानकारहरूका अनुसार यो निर्णयले दक्षिण कोरियामा दक्ष नेपाली जनशक्तिका लागि रोजगारीको अवसर थप विस्तार गर्ने अपेक्षा गरिएको छ। विशेषगरी उत्पादन, उत्पादन प्रविधि, वेल्डिङ, मेसिन सञ्चालन, इन्जिनियरिङ, सूचना प्रविधि तथा अन्य प्राविधिक क्षेत्रमा काम गर्ने नेपालीले यसबाट लाभ लिन सक्नेछन्।

दक्षिण कोरिया नेपाली श्रमिकका लागि आकर्षक रोजगारी गन्तव्यमध्ये एक हो। हालसम्म अधिकांश नेपाली रोजगार अनुमति प्रणाली (EPS) मार्फत दक्षिण कोरिया जाने गरेका छन्। अब ई–७ भिसाको प्रक्रिया पुनः सञ्चालनमा आएपछि दक्ष र प्राविधिक जनशक्ताले इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत पनि कानुनी रूपमा दक्षिण कोरिया जाने अवसर प्राप्त गर्ने भएका छन्। मन्त्रालयले यस व्यवस्थाले दक्ष नेपाली जनशक्ताको अन्तर्राष्ट्रिय श्रम बजारमा पहुँच विस्तार हुनुका साथै वैदेशिक रोजगारीलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Press Relaese