कुवेतमा गर्मीअनुसार मध्यान्ह काम रोक्ने समय परिवर्तन गर्न सकिने

आप्रवासन आप्रवासन

काठमाडौं। कुवेतको सार्वजनिक श्रम प्राधिकरण (Public Authority for Manpower–PAM) ले अत्यधिक गर्मीका बेला खुला क्षेत्रमा लागू हुने मध्यान्हकालीन काम बन्द गर्ने व्यवस्थामा आवश्यकताअनुसार परिवर्तन गर्न सकिने स्पष्ट पारेको छ।

प्राधिकरणका अनुसार मौसम तथा वातावरणीय अवस्थालाई ध्यानमा राख्दै मध्यान्ह काम रोक्ने समय वा अवधि आवश्यक परे परिमार्जन गर्न सकिनेछ। यद्यपि हाल लागू रहेको व्यवस्था भने यथावत् रहने जनाइएको छ।

हाल कुवेतमा प्रत्येक वर्ष जुन १ देखि अगस्ट ३१ सम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लागू गरिएको छ। यो नियम खुला आकाशमुनि सञ्चालन हुने सबै प्रकारका कार्यस्थलमा लागू हुने प्राधिकरणले जनाएको छ।

श्रम प्राधिकरणले रोजगारदातालाई उक्त नियमको पूर्ण पालना गर्न आग्रह गर्दै अत्यधिक गर्मीका कारण श्रमिकमा हुन सक्ने हीट स्ट्रेस तथा अन्य स्वास्थ्य जोखिमबाट जोगाउन यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जनाएको छ।

कुवेत नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक भएकाले यो व्यवस्था विशेषगरी निर्माण, पूर्वाधार, सडक तथा अन्य बाहिरी क्षेत्रमा कार्यरत हजारौं नेपाली श्रमिकका लागि पनि महत्वपूर्ण मानिएको छ। अत्यधिक गर्मीका बेला मध्यान्ह समयमा काम रोक्ने व्यवस्थाले श्रमिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

श्रम प्राधिकरणले हालका लागि मध्यान्ह काम बन्दको समय परिवर्तन नगरिएको स्पष्ट पार्दै जलवायु तथा वातावरणीय अवस्थाको मूल्याङ्कनका आधारमा आवश्यक परे भविष्यमा समय वा अवधि समायोजन गर्न सकिने जनाएको छ।