काठमाडौं। न्युजिल्यान्ड सरकारले विदेशी लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले बिजनेस इन्भेष्टर वर्क भिसा (Business Investor Work Visa) सम्बन्धी नियममा महत्वपूर्ण संशोधन गरेको छ। जुलाई ६ देखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब विदेशी लगानीकर्ताले पहिलेभन्दा बढी क्षेत्रमा लगानी गर्न पाउने भएका छन् भने योग्य व्यवसायको दायरा पनि विस्तार गरिएको छ।
इमिग्रेसन न्युजिल्यान्डका अनुसार नयाँ व्यवस्थाले व्यवसायीलाई न्युजिल्यान्डका कम्पनीहरूसँग लगानी र सहकार्य गर्न थप सहज बनाउने लक्ष्य राखेको छ। यसअघि सीमित प्रकारका व्यवसायमा मात्र लगानी गर्न पाइने व्यवस्था रहेकामा अब आवश्यक मापदण्ड पूरा गरेका फ्रेन्चाइज व्यवसाय (Franchise Businesses) मा समेत लगानी गर्न सकिने भएको छ। सरकारका अनुसार यसले विदेशी पूँजीसँगै व्यवसायिक अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय व्यापारिक सञ्जाललाई न्युजिल्यान्डमा भित्र्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
बिजनेस इन्भेष्टर वर्क भिसा न्युजिल्यान्डमा व्यवसाय सञ्चालन गर्न तथा स्थापित कम्पनीमा कम्तीमा १० लाख न्युजिल्यान्ड डलर लगानी गर्न चाहने अनुभवी व्यवसायीका लागि उपलब्ध भिसा हो। यो भिसाको अवधि चार वर्षसम्म रहने व्यवस्था छ र तोकिएका सबै सर्त पूरा गरेपछि स्थायी बसोबास (रेसिडेन्सी) का लागि आवेदन दिने बाटो पनि खुला हुन्छ।
नयाँ संशोधनले लगानीकर्तालाई व्यवसाय सञ्चालनमा थप लचकता दिएको सरकारको भनाइ छ। वास्तविक व्यावसायिक अभ्याससँग मेल खाने गरी लगानीका विकल्प विस्तार गरिएको र यसले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको इमिग्रेसन न्युजिल्यान्डले जनाएको छ।
पछिल्ला वर्षहरूमा न्युजिल्यान्डले विदेशी लगानी आकर्षित गर्न आफ्नो लगानी तथा आप्रवासन नीतिमा निरन्तर सुधार गर्दै आएको छ। यसअघि पनि सरकारले लगानीकर्ता केन्द्रित भिसा प्रणालीलाई सरल बनाउने, अंग्रेजी भाषाको केही सर्त परिमार्जन गर्ने तथा लगानीका योग्य क्षेत्र विस्तार गर्ने निर्णय गरेको थियो। पछिल्लो संशोधनलाई त्यसैको निरन्तरताका रूपमा हेरिएको छ।
नेपालबाट अध्ययन, रोजगारी र व्यवसायका लागि न्युजिल्यान्ड जाने क्रम पछिल्ला वर्षहरूमा बढ्दो छ। यद्यपि यो व्यवस्था प्रत्यक्ष रूपमा व्यवसायमा लगानी गर्न चाहने विदेशी नागरिकका लागि लक्षित भए पनि न्युजिल्यान्डमा उद्यम विस्तार गर्न चाहने नेपाली व्यवसायी तथा उच्च पूँजी भएका लगानीकर्ताका लागि नयाँ अवसरका रूपमा हेरिएको छ। आप्रवासन तथा लगानीसम्बन्धी विज्ञहरूका अनुसार न्युजिल्यान्डले लगानीकर्तामैत्री नीति अपनाउँदै विदेशी पूँजी आकर्षित गर्ने प्रतिस्पर्धालाई थप तीव्र बनाइरहेको छ।