अमेरिकी भन्सारको असर

क्यानडामा बेरोजगारी दर ६ महिनायताकै उच्च

आप्रवासन आप्रवासन

अमेरिकाले लगाएको भन्सारको असर क्यानडाको अर्थतन्त्रमा देखा पर्न थालेको छ ।

क्यानडाको तथ्याङ्क एजेन्सी स्टाटिस्टिक्स क्यानडाका अनुसार अप्रिल महिनामा बेरोजगारी दर बढेर पछिल्लो ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । अप्रिलमा बेरोजगारी दर ० दशमलव २ प्रतिशतले वृद्धि भई ६ दशमलव ९ प्रतिशत पुगेको छ।

मार्चमा बेरोजगारी दर ६ दशमलव ७ प्रतिशत थियो । त्यस्तै अप्रिलमा बेरोजगारी दर ६ दशमलव ६ प्रतिशत थियो ।  निरन्तरको वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो । नोभेम्बरमा समेत बेरोजगारी दर ६ दशमलव ९ प्रतिशत पुगेको थियो ।

एजेन्सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च र अप्रिल महिनामा क्यानडेली वस्तुहरूमा लगाएको भन्सारलाई बेरोजगारी दर वृद्धि हुनुका कारण मानेको छ । जसको सबैभन्दा धेरै असर म्यानुफ्याकचरिङ क्षेत्रमा परेको छ ।

यस क्षेत्रमा मात्रै मासिक रूपमा ३१ हजार रोजगारी गुमेको छ । यस्तै, होलसेल, रिटेल र व्यापार क्षेत्रले २७ हजार रोजगार कटौतीको सामना गर्नुपरेको छ ।

यसअघि, क्यानडाको केन्द्रीय बैङ्कले ट्रम्पले लगाएको भन्सारका कारण अर्थतन्त्र थप कमजोर हुने चेतावनी दिएको थियो । क्यानडाको अर्थतन्त्रमा सङ्कट चुलिँदै जाँदा त्यसको मारमा त्यहाँ रहेका नेपालीहरूलाई पर्ने निश्चित छ ।