भारतीय विमानस्थलबाट श्रमिक पठाउने म्यानपावरमाथि विभागको निगरानी, ८ कम्पनीलाई जरिवाना

आप्रवासन आप्रवासन

काठमाडौं। वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकलाई विभागको स्वीकृतिबिना भारतीय विमानस्थल प्रयोग गरेर विदेश पठाउने १५६ वटा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी कारबाहीको दायरामा परेका छन्। वैदेशिक रोजगार विभागले स्वदेशी विमानस्थल प्रयोगसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै ती कम्पनीलाई पहिलोपटक औपचारिक रूपमा सचेत गराएको हो।

विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीले श्रमिकलाई स्वदेशी विमानस्थलमार्फत मात्र विदेश पठाउनुपर्ने व्यवस्था छ। विशेष परिस्थितिमा अन्य मुलुकको विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागबाट पूर्वस्वीकृति लिनुपर्ने कानुनी प्रावधान रहे पनि धेरै कम्पनीले अनुमति नै नलिई भारतीय विमानस्थल प्रयोग गरेको पाइएको छ।

विभागले शनिबार सूचना जारी गर्दै स्वीकृतिबिना भारतीय विमानस्थल प्रयोग गर्ने १५६ वटा म्यानपावर कम्पनीको नाम सार्वजनिक गरेको छ। विभागले वैदेशिक रोजगार ऐनको दफा ५४ बमोजिम पहिलो चरणमा ती कम्पनीलाई सचेत गराइएको जनाएको छ।

यसैगरी, विभागले सञ्चालनमा रहेका एक हजार ११७ वटा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ वटाले मात्र मागिएको विवरण बुझाएको जनाएको छ। बाँकी ४२४ कम्पनीले विभागको निर्देशनअनुसार विवरण उपलब्ध नगराएको पाइएको छ। विभागले यसलाई वैदेशिक रोजगार ऐनको दफा ३७ को उल्लंघन मानेर ती कम्पनीलाई पनि सचेत गराउँदै पुनः आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

विभागका अनुसार पटक–पटक निर्देशन दिँदा पनि अटेर गर्ने आठ वटा म्यानपावर कम्पनीलाई आर्थिक जरिवानासमेत गरिएको छ। ग्राण्ड सुइट जब प्रालि, मास ह्युमन रिसोर्स प्रालि र नुन रिसोर्सेस प्रालिले विभागको अनुमति नलिई भारतीय विमानस्थलमार्फत श्रमिक पठाएको पुष्टि भएपछि कारबाही गरिएको हो। त्यस्तै एपेक्स एचआर कन्सल्टेन्सी प्रालि, टेस्ला ओभरसिज प्रालि, सुनाग्वा इन्टरनेसनल प्रालि, एलाइड इन्टरनेसनल म्यानपावर प्रालि र अञ्जली ओभरसिज सर्भिस प्रालिले विभागले मागेको विवरण उपलब्ध नगराएकाले कारबाही गरिएको विभागले जनाएको छ। ती प्रत्येक कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।

विभागले असार १ गते सूचना जारी गर्दै गत चैत १ गतेदेखि जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकलाई कुन विमानस्थलमार्फत पठाइएको हो भन्ने विवरण तीन दिनभित्र उपलब्ध गराउन सबै म्यानपावर कम्पनीलाई निर्देशन दिएको थियो। पछिल्लो समय नेपाली श्रमिकलाई भारतका विभिन्न विमानस्थल हुँदै विदेश पठाउने गुनासो बढेपछि विभागले त्यससम्बन्धी तथ्यांक संकलन गर्न विवरण मागेको जनाएको छ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा रहेको श्रम सहायता कक्षबाट संकलन गरिएको विवरणमा पनि उल्लेख्य संख्यामा नेपाली श्रमिक भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा गएको पाइएको जनाएको छ। त्यसपछि नियम कार्यान्वयनमा कडाइ गर्दै विभागले अनुगमन तीव्र बनाएको हो।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १८ मा पनि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया स्वदेशी विमानस्थलमार्फत नै गर्नुपर्ने स्पष्ट व्यवस्था छ। अन्य मुलुकको विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आए विभागको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने उल्लेख भए पनि कतिपय म्यानपावर कम्पनीले उक्त व्यवस्था बेवास्ता गरेको देखिएको विभागको भनाइ छ।

केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा अन्तर्राष्ट्रिय उडान सीमित भएपछि परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासको समन्वयमा अस्थायी रूपमा भारतीय विमानस्थलमार्फत नेपाली श्रमिक पठाउने व्यवस्था गरिएको थियो। तर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आइसकेकाले त्यस्तो विशेष व्यवस्था आवश्यक नरहेको र अब सबै म्यानपावर कम्पनीले स्वदेशी विमानस्थलबाटै श्रमिक पठाउनुपर्ने विभागले स्पष्ट गरेको छ।

सरोकारवाला निकायका अनुसार भारतीय सीमाना हुँदै हुने मानव तस्करी तथा अवैध वैदेशिक रोजगारी नियन्त्रण गर्न पनि स्वदेशी विमानस्थलको प्रयोग प्रभावकारी माध्यम हुन सक्छ। नेपालबाट वैधानिक रूपमा श्रम स्वीकृति लिएर जाने श्रमिकलाई नियमनभित्र राख्न तथा उनीहरूको सुरक्षा सुनिश्चित गर्न विभागले आगामी दिनमा पनि यस्ता अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

यता म्यानपावर व्यवसायीहरूले भने विभागले अत्यन्त छोटो समय दिएर विवरण मागेकाले सबै विवरण समयमै उपलब्ध गराउन नसकिएको बताएका छन्। तथापि, विभागले कानुनी व्यवस्था पालना गर्न सबै इजाजतपत्र प्राप्त संस्थालाई पुनः निर्देशन दिँदै भविष्यमा यस्ता उल्लंघन दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।