नेपालमा वैदेशिक रोजगारीबाट आउने विप्रेषण (रेमिट्यान्स)ले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार जेठ मसान्तसम्म नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ३८ दशमलव २ प्रतिशतले बढेको हो। विदेशी रोजगारीमा रहेका लाखौं नेपालीले पठाएको आम्दानीका कारण नेपालको विदेशी मुद्रा सञ्चिति, उपभोग, बैंकिङ प्रणाली र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको राष्ट्र बैंकको विश्लेषण छ।
जेठ महिनामा मात्रै नेपालमा २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो। यसले एक वर्षको अवधिमा मासिक रेमिट्यान्समा पनि उल्लेखनीय वृद्धि भएको देखाएको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर पनि बढेर २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो।
वैदेशिक रोजगारीप्रति नेपालीको आकर्षण पनि निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको ११ महिनामा संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ६७ हजार २११ पुगेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिएर विदेश फर्किने नेपालीको संख्या ३ लाख ५५ हजार ७३५ पुगेको राष्ट्र बैंकले जनाएको छ।
वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स अहिले नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको छ। आयात धान्न, विदेशी मुद्रा सञ्चिति मजबुत बनाउन, बैंकिङ प्रणालीमा तरलता कायम राख्न तथा लाखौं नेपाली परिवारको दैनिक जीवनयापनमा रेमिट्यान्सको योगदान महत्वपूर्ण रहेको अर्थविद्हरू बताउँछन्।
यद्यपि, विज्ञहरूले रेमिट्यान्समा अत्यधिक निर्भर अर्थतन्त्रलाई दीर्घकालीन रूपमा उत्पादन, उद्योग, कृषि र रोजगारी सिर्जनासँग जोड्दै आन्तरिक आर्थिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।