साउदी अरबको समर्थन प्राप्त यमनी सरकार समर्थक फौजले लाल सागरको दक्षिणी छेउमा रहेको रणनीतिक बाब अल-मन्दाब जलमार्ग आफ्नो ‘नियन्त्रणमा लिएको’ दाबी गरेको छ । इरान समर्थित हुथी विद्रोहीविरुद्ध बृहत् सैन्य कारबाही सुरु गर्दै साउदी नेतृत्वको हवाई आक्रमणको सहयोगमा मंगलबार अपरान्ह लाल सागर किनारमा स्थित मोखा सहर कब्जा गरिएको यमनी सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
यद्यपि रोयटर्स र एएफपी जस्ता समाचार एजेन्सीहरूलाई नाम नखुलाइएका यमनी सरकारी तथा सैन्य स्रोतहरूले दिएको परस्पर विरोधी जानकारीअनुसार सरकारी फौज सहरको बाहिरी इलाकामा मात्र पुगेको छ । हुथी विद्रोहीले भने बाब अल-मन्दाब र मोखा सहर गुमाएको दाबी अस्वीकार गरेका छन् ।
साउदी हवाई आक्रमणको बदलामा साउदी अरबको राजधानी रियादस्थित विमानस्थल र अन्य स्थानहरूमा क्षेप्यास्त्र प्रहार गरिएको हुथीले जनाएको छ । साउदी अरबले ती आक्रमणहरूको भर्त्सना गर्दै यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरूसँग पुनः आह्वान गरेको छ ।
यसैबिच साउदी अरबका सहयोगी राष्ट्रहरू टर्की र पाकिस्तानले रियादमा आपत्कालीन बैठक आयोजना गर्दै मक्का संयुक्त रक्षा सम्झौता लागू गरी साउदी अरबमा द्रुत रूपमा सैन्य बल तैनाथ गर्न सहमति जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साउदी अरबमाथि हुथी समूहले गरिरहेको सीमापार आक्रमणको भर्त्सना गर्दै भीषण बन्दै गएको युद्धप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
यमनको दक्षिण-पश्चिम क्षेत्रमा नेशनल शिल्ड, जायन्ट्स ब्रिगेड र तिहामा रेसिस्टन्स फौजले सुरु गरेको सैन्य कारबाहीका कारण हुथीहरू गएको महिना कब्जा गरेका अधिकांश तटीय क्षेत्रहरूबाट पछि हट्न बाध्य भएका छन् । मोखा सहरको बाहिरी भागमा पुगेका यमनी फौजका कारण हुथी लडाकुहरू पछि हटिरहेको सरकारी स्रोतहरूले जनाएका छन् ।
यमनी सेनाले मोखाभन्दा ४५ किलोमिटर दक्षिणमा रहेको धुबाब सैन्य विमानस्थल कब्जामा लिएको र नजिकैको सहरमा रहेका हुथी लडाकुहरूलाई घेराबन्दी गरेको बताएको छ ।
हुथीद्वारा सञ्चालित सञ्चारमाध्यमले भने मोखा र धुबाब गुमाएको खबरलाई ‘साउदी प्रचारबाजी’ भन्दै खण्डन गरेको छ । बाब अल-मन्दाब र तटीय क्षेत्र नजिकैको काहबुब पहाडहरू अझै आफ्नै नियन्त्रणमा रहेको हुथी सैन्य स्रोतले दाबी गरेको छ ।
१२ वर्षअघि गृहयुद्धको सुरुवातमा हुथीको कब्जामा गएको राजधानी सानासहित अन्य मोर्चामा पनि सैन्य अभियान सुरु गरिएको सरकारले जनाएको छ । साउदी नेतृत्वको सैन्य गठबन्धनले आफ्ना लडाकु विमानहरूले सरकारी फौजलाई अहोरात्र हवाई सहयोग पुर्याइरहेको र कारबाही सुरु भएयता ३२४ वटा महत्त्वपूर्ण निशानाहरू ध्वस्त पारिएको दाबी गरेको छ ।
हुथीद्वारा सञ्चालित अल मसिराह टिभीका अनुसार सानामा साउदीले गरेको हवाई आक्रमणमा परी एक छात्रा र एक महिलाको मृत्यु भएको छ ।