मलेसियामा रहेका नेपालीलाई दूतावासको विशेष सूचना, राहदानी सधैं आफूसँग राख्न आग्रह

संगम पहरी संगम पहरी

मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ रोजगारी तथा अन्य प्रयोजनले बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकलाई आफ्नो राहदानी सधैं आफूसँग सुरक्षित राख्न आग्रह गरेको छ। मलेसियाको प्रचलित कानुन तथा नियमहरूको पालना गर्दै बसोबास वा यात्रा गर्ने क्रममा राहदानी साथमै राख्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

दूतावासले नेपाली श्रमिकलाई रोजगारी दिने सबै रोजगारदातालाई पनि आफ्ना नेपाली कर्मचारीले राहदानी आफैंसँग राख्न पाउने व्यवस्था सुनिश्चित गर्न अनुरोध गरेको छ। कानुनले स्पष्ट रूपमा अनुमति दिएको अवस्था वा सम्बन्धित श्रमिकको स्पष्ट सहमति बाहेक रोजगारदाताले श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा नराख्न दूतावासले आग्रह गरेको छ।

सूचनामा कुनै नेपाली नागरिकको राहदानी निजको सहमतिविना रोजगारदाता वा अन्य कुनै व्यक्तिले आफ्नो नियन्त्रणमा राखेको भए तत्काल नेपाली राजदूतावासलाई जानकारी गराउन अनुरोध गरिएको छ। यस्ता समस्या भोगिरहेका नेपालीले दूतावासको ह्वाट्सएप नम्बर +६०१६२४७२७७७ वा [email protected] इमेलमार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

दूतावासले मलेसियामा रहेका नेपाली नागरिकलाई स्थानीय कानुनको पूर्ण पालना गर्न, आफ्नो व्यक्तिगत कागजात सुरक्षित राख्न तथा कुनै समस्या परे आधिकारिक निकायसँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ। राहदानी विदेशी मुलुकमा बसोबास गर्ने प्रत्येक नागरिकको सबैभन्दा महत्वपूर्ण परिचयपत्र भएकाले त्यसको सुरक्षा स्वयं नागरिकको जिम्मेवारी रहेको दूतावासको भनाइ छ।

पछिल्लो समय मलेसियामा अध्यागमन अनुगमन र कागजात जाँचको क्रम तीव्र भइरहेका बेला नेपाली दूतावासको यो सूचना सार्वजनिक भएको हो। विशेषगरी राहदानी साथमा नराख्ने वा रोजगारदाताले नियन्त्रणमा राख्ने अवस्थाले नेपाली श्रमिकलाई कानुनी तथा प्रशासनिक समस्या आउन सक्ने भएकाले दूतावासले समयमै सचेत गराएको जनाएको छ।

दूतावासले मलेसियामा कार्यरत नेपाली श्रमिकको अधिकार, सम्मान र कल्याणको संरक्षणमा सहयोग पुर्‍याउने सबै रोजगारदाता तथा नेपाली समुदायप्रति आभार व्यक्त गर्दै कानुनको पालना र जिम्मेवार व्यवहार अपनाउन पुनः आग्रह गरेको छ।

Notice