यूएईको ५ वर्षे बहुप्रवेश पर्यटक भिसा, वर्षमा १८० दिनसम्म बस्न पाइने

संगम पहरी संगम पहरी

संयुक्त अरब इमिरेट्स (यूएई) ले पाँच वर्षे बहुप्रवेश पर्यटक भिसा (फाइभ इयर मल्टिपल–एन्ट्री टुरिस्ट भिसा) सम्बन्धी व्यवस्था थप स्पष्ट गर्दै बारम्बार यूएई भ्रमण गर्ने विदेशी नागरिकका लागि सहज सुविधा उपलब्ध गराएको छ। यो भिसा अन्तर्गत यात्रुले स्थानीय स्पोन्सर वा होस्टबिना पाँच वर्षसम्म यूएईमा पटक–पटक प्रवेश गर्न सक्नेछन्।

यूएईको जनरल डाइरेक्टरेट अफ आइडेन्टिटी एन्ड फरेनर्स अफेयर्स (जीडीआरएफए) का अनुसार यो भिसा पाँच वर्षसम्म मान्य हुनेछ। प्रत्येक भ्रमणमा अधिकतम ९० दिन बस्न पाइनेछ भने आवश्यक परे थप ९० दिनका लागि अवधि बढाउन सकिनेछ। तर एक वर्षभित्र कुल बसाइ अवधि १८० दिनभन्दा बढी हुन पाउने छैन।

यो भिसा विशेषगरी पर्यटन, परिवार भेटघाट, व्यापारिक भ्रमण तथा नियमित रूपमा यूएई आउने विदेशी नागरिकलाई लक्षित गरिएको हो। प्रत्येक पटक नयाँ भिसा आवेदन दिनुपर्ने झन्झट हट्ने भएकाले बारम्बार यात्रा गर्ने व्यक्तिका लागि यो व्यवस्था निकै उपयोगी हुने अपेक्षा गरिएको छ।

भिसाका लागि आवेदन दिने व्यक्तिसँग कम्तीमा ४ हजार अमेरिकी डलर वा सो बराबरको बैंक मौज्दात रहेको प्रमाण, कम्तीमा छ महिनासम्म वैध राहदानी, स्वास्थ्य बीमा, यूएई आउजाउको टिकट तथा बसोबासको विवरण हुनुपर्ने व्यवस्था छ। आवेदन जीडीआरएफए वा सम्बन्धित सरकारी अनलाइन प्रणालीमार्फत गर्न सकिनेछ।

यो व्यवस्था नेपाली नागरिकका लागि पनि महत्वपूर्ण मानिएको छ। विशेषगरी यूएईमा परिवार भेट्न, व्यवसायिक भेटघाट गर्न, सम्भावित लगानीको अध्ययन गर्न वा बारम्बार भ्रमण गर्ने नेपालीले एउटै दीर्घकालीन भिसामार्फत पटक–पटक यूएई यात्रा गर्न सक्नेछन्। यद्यपि, यो पर्यटक भिसाले यूएईमा रोजगारी गर्ने अधिकार भने प्रदान गर्दैन। रोजगार गर्न चाहने व्यक्तिले सम्बन्धित रोजगार भिसा वा कार्य अनुमति लिनैपर्ने हुन्छ।

यूएई अधिकारीहरूले भिसाको अवधि नाघेर बस्ने वा पर्यटक भिसाको दुरुपयोग गरी रोजगारी गर्ने गतिविधि कानुनविपरीत हुने भएकाले सबै विदेशी नागरिकलाई भिसाको सर्त पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरेका छन्।