विदेशमा बसेर पढ्ने वा काम गर्ने नेपालीहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । नयाँ ठाउँ, व्यस्त दिनचर्या, सीमित स्रोतसाधन र कहिलेकाहीँ भाषा तथा जानकारीको अभावले गर्दा दैनिक जीवनमा स्वास्थ्यलाई ध्यान दिन मुस्किल पर्न सक्छ ।
यस्तो अवस्थामा, विशेष गरी खानपान सम्बन्धी सावधानी आवश्यक हुन्छ । किनभने सानो लापरवाहीले पेटको गम्भीर समस्या, झाडा, बान्ता वा फुड पोइजनिङजस्ता समस्याहरू निम्तिन सक्छन् ।
विदेशमा अधिकांश नेपालीहरू खाना एक पटकमा धेरै बनाएर राख्ने गर्छन्, ताकि समय र खर्च दुबै बचत होस् । तर यस्तो बानीले गर्दा यदि खानेकुरा सुरक्षित तरिकाले राखिएन भने, त्यो बचतभन्दा ठूलो नोक्सानी हुन सक्छ । यो भिडियोमा कुरा गरौँ खानाको सुरक्षा कसरी गर्नेबारे
खानेकुरा, विशेष गरी भात, मासु, र अन्य पकाइएको खाना कोठाको तापक्रममा लामो समयसम्म राख्दा त्यसमा ब्याक्टेरिया छिटो फैलिन्छ । उदाहरणका लागि, ब्यासिलस सेरियस भन्ने ब्याक्टेरिया भातमा भेटिन्छ जुन पकाउँदा पनि मर्दैन। यदि भात धेरै समय बाहिर राखियो वा बारम्बार तताइयो भने, पेटको गम्भीर संक्रमण हुन सक्छ । त्यस्तै, क्याम्पिलोब्याक्टर नामक ब्याक्टेरिया काँचो वा राम्रोसँग नपाकेको कुखुराको मासुमा पाइन्छ। यसले बान्ता, ज्वरो, पेट दुख्ने, र कहिलेकाहीँ अस्पताल भर्ना हुने अवस्था पनि ल्याउन सक्छ ।
के नगर्ने ?
भात पटक–पटक नतताउनुहोस् । पकाएको भात जति मात्रा आवश्यक हो त्यति नै निकाले तताउने गर्नुपर्छ । खाना धेरै बेर कोठाको तापक्रममा नराख्नुहोस् । विशेष गरी तापक्रम बढी हुने देशमा खाना १–२ घण्टाभन्दा बढी बाहिर नराख्नुहोस् ।
के गर्ने ?
खाना पकाएपछि चिसो हुन दिनुहोस् र मात्र फ्रिजमा राख्नुहोस् । तातो खाना सिधै फ्रिजमा राख्दा फ्रिजको तापक्रम बढ्छ र अन्य खानेकुरा बिग्रिन सक्छ । खाना ५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्नुहोस् । यसले हानिकारक ब्याक्टेरियाको वृद्धिलाई रोक्दछ । बचेको खाना २४–४८ घण्टाभित्र खाइ सक्नुहोस् ।
फ्रिजरमा राखिएको मासु बिस्तारै पगाल्नुहोस् । तातो पानीमा राखेर चाँडो पगाल्ने प्रयास नगर्नुहोस्, त्यसले मासुको केही भागलाई 'खतरा क्षेत्र'मा पुर्याउँछ । खाना पूरै तातेर बाफ आउने गरी मात्र तताउनुहोस् । माइक्रोवेभमा पनि समान रूपमा तात्ने सुनिश्चित गर्न बीचमा चलाउनुहोस् ।