सरकारले नेपाली विद्यार्थीलाई अध्ययनका लागि दक्षिण कोरिया जान रोक लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरिया जाने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र, एनओसी दिन बन्द गरिएको जनाएको हो ।
मन्त्रालयले डी–टू र डी–फोर भिसामा अन्डर ग्र्याजुयट अध्ययन गर्न जाँदा विभिन्न विकृति देखिएको भन्दै तत्कालका लागि एनओसी स्थगित गरेको हो । डी–टू भिसा अन्डर ग्र्याजुयट कोर्सको हो भने डी–फोर भिसा भाषा अध्ययनको लागि हो ।
सो भिसामा जाने विद्यार्थीहरूले सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकता दिने गरेकाले अध्ययनमा निरन्तरता नहुने समस्या देखिएको मन्त्रालयको ठहर छ । स्टडी आवर कम भएका र कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थीहरू जाने गरेको पाइएको छ ।
यस्तै, मन्त्रालयले कन्सल्टेन्सीहरूले कोरिया जाने बित्तिकै काम गर्न पाइने भनेर आश्वासन दिने गरेको तर उता गएपछि सोचेजस्तो नहुँदा विद्यार्थीहरू मानसिक समस्यामा पर्ने गरेको समेत बताएको छ ।
त्यसैले यो अवस्थाको अध्ययन गर्न एक कार्यदल गठन गरिएको र त्यसले दिने प्रतिवेदनको आधारमा थप निर्णय लिइने मन्त्रालयले भनाई छ ।
मन्त्रालयको पछिल्लो निर्णयसँगै दक्षिण कोरिया जान तयारी गरिरहेका विद्यार्थीहरू अन्योलमा परेका छन् ।