विमानस्थलको 'ब्यागेज आतंक' रोक्न ग्राउन्ड ह्यान्डलिङका कर्मचारीलाई खल्ती नभएको पोशाक

आप्रवासन आप्रवासन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान हराउने, फुट्ने तथा बहुमूल्य वस्तु चोरी हुने गुनासो रोक्न ग्राउन्ड ह्यान्डलिङमा खटिने कर्मचारीका लागि खल्तीरहित पोशाक अनिवार्य गरिएको छ। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको निर्देशनपछि विमानस्थल प्रशासनले विगतमा आंशिक रूपमा लागू भएको यो व्यवस्थालाई पुनः पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको हो।

विमानस्थल प्रशासनका अनुसार अब जहाज पार्किङ र्‍याम्प क्षेत्रमा प्रवेश गर्ने सबै ब्यागेज ह्यान्डलिङ कर्मचारीले खल्ती नभएको पोशाक लगाउनुपर्नेछ। उनीहरूले व्यक्तिगत झोला वा अन्य सामग्री कार्यक्षेत्रभित्र लैजान पाउने छैनन्। छुट्टै स्थानमा झोला राखेपछि मात्र उनीहरूलाई कार्यक्षेत्रमा प्रवेश गर्न दिइने व्यवस्था गरिएको छ। साथै विदेशबाट क्षतिग्रस्त अवस्थामा आएका ब्यागको तत्काल फोटो खिच्ने, अभिलेख राख्ने र सम्बन्धित प्रतिवेदन तयार गर्ने प्रणाली पनि सुरु गरिएको छ। आगमन क्षेत्रमा थप सीसीटीभी क्यामेरा जडान गरिएको विमानस्थल प्रशासनले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौं यात्रुले अन्तर्राष्ट्रिय यात्रा गर्ने गरे पनि लगेज फुट्ने, सामान हराउने वा झोलाभित्रका सामग्री गायब हुने गुनासो लामो समयदेखि दोहोरिँदै आएको छ। विमानस्थल स्रोतका अनुसार दैनिक करिब १२ हजार अन्तर्राष्ट्रिय यात्रुमध्ये १५ देखि २० वटासम्म यस्ता उजुरी दर्ता हुने गरेका छन्। सर्वसाधारण मात्र होइन, उच्च सरकारी अधिकारीहरू समेत यस्ता घटनाबाट प्रभावित भएका उदाहरण सार्वजनिक भइसकेका छन्।

यसअघि पनि खल्तीरहित पोशाक लागू गर्ने प्रयास भएको थियो। तर ट्रेड युनियनको विरोधपछि कार्यान्वयन प्रभावकारी हुन सकेको थिएन। यसपटक भने विमानस्थल प्रशासनले यसलाई सुरक्षा व्यवस्थाको अभिन्न हिस्सा भन्दै पुनः लागू गरेको हो। नेपाल एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने निजी कम्पनीहरूले समेत आफ्ना कर्मचारीका लागि खल्तीरहित पोशाक तयार गरी कार्यान्वयनमा ल्याएका छन्।

यद्यपि विमानस्थलभित्र कार्यरत अधिकारीहरू भने खल्तीरहित पोशाक मात्रै समाधान नभएको बताउँछन्। उनीहरूका अनुसार यात्रुको सामान सुरक्षित बनाउन प्रभावकारी निगरानी प्रणाली, उच्च गुणस्तरीय सीसीटीभी, नियमित शरीर जाँच, सुपरिवेक्षण, कर्मचारीको उत्तरदायित्व र सुरक्षा संस्कृतिमा पनि समान रूपमा सुधार आवश्यक छ। केवल पोशाक परिवर्तनले वर्षौंदेखि दोहोरिँदै आएको लगेजसम्बन्धी समस्या पूर्ण रूपमा समाधान नहुने उनीहरूको भनाइ छ।

यो व्यवस्था विशेषगरी विदेशबाट नेपाल फर्किने तथा नेपालबाट वैदेशिक रोजगारी, अध्ययन वा भ्रमणका लागि अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली यात्रुका लागि महत्वपूर्ण मानिएको छ। पछिल्लो समय यात्रुको लगेज हराउने, तोडफोड हुने तथा बहुमूल्य सामान चोरी भएको गुनासो बढेपछि विमानस्थल प्रशासनले सुरक्षा प्रणाली थप कडा बनाउने अभियानअन्तर्गत यो कदम अघि बढाएको जनाएको छ।