गत आर्थिक वर्ष २०८२/८३ मा रोजगारीको खोजीमा झण्डै आठ लाख नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिएर कूल सात लाख ९७ हजार ८०२ जना नेपाली विभिन्न मुलुकमा रोजगारीका लागि गएका छन्।
यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा भने केही घटेको हो। आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। पछिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या ४१ हजार ४६४ ले घटेको विभागको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्षमा विदेशिएका कुल श्रमिकमध्ये सात लाख दुई हजार १०१ जना पुरुष र ९५ हजार ७०१ जना महिला रहेका छन्। यस अवधिमा चार लाख नौ हजार ४५६ जना पहिलोपटक वैदेशिक रोजगारीका लागि विदेशिएका हुन्। पहिलोपटक विदेशिनेहरूमध्ये तीन लाख ५० हजार ८९८ जना पुरुष र ५८ हजार ५५८ जना महिला रहेका छन्।
विभागका अनुसार इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत दुई लाख ७१ हजार २२३ जना श्रमिक विदेशिएका छन्। तीमध्ये दुई लाख ४४ हजार पाँच जना पुरुष र २७ हजार २१८ जना महिला रहेका छन्। व्यक्तिगत श्रम स्वीकृति लिएर एक लाख २९ हजार ३१७ जना विदेशिएका छन्, जसमध्ये ९९ हजार ५०६ जना पुरुष र २९ हजार ८११ जना महिला छन्। व्यक्तिगत श्रम स्वीकृतिमार्फत विदेशिने महिलाको संख्या तुलनात्मक रूपमा उल्लेख्य रहेको विभागले जनाएको छ।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै ६९ हजार ३६२ जना नेपाली रोजगारीका लागि विदेशिएका छन्। यस अवधिमा ६० हजार ४६७ जना पुरुष र आठ हजार ८९५ जना महिला श्रम स्वीकृति लिएर विभिन्न मुलुक पुगेका छन्। त्यसमध्ये ३९ हजार ३०८ जना पहिलोपटक वैदेशिक रोजगारीमा गएका हुन्।
असार महिनामा संस्थागत श्रम स्वीकृतिमार्फत २६ हजार ३२५ जना विदेशिएका छन् भने १२ हजार २८० जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन्। त्यस्तै, दक्षिण कोरिया र इजरायलमा सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत ५८९ जना नेपाली रोजगारीका लागि गएका छन्।
सीपका आधारमा हेर्दा असार महिनामा ४० हजार ३२० जना दक्ष श्रमिक विदेशिएका छन्। १७ हजार ८३१ जना अदक्ष, १० हजार ६६१ जना अर्धदक्ष, ८६ जना उच्च दक्ष तथा ४६४ जना व्यावसायिक श्रमिक वैदेशिक रोजगारीमा गएका विभागको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या केही घट्नुमा संयुक्त अरब इमिरेट्सले केही समय श्रम स्वीकृति रोकेको अवस्था र मध्यपूर्वमा बढेको क्षेत्रीय तनावलाई प्रमुख कारणका रूपमा हेरिएको छ। भदौ महिनामा भएको आन्दोलनपछि युएईले केही समय नयाँ श्रमिक लिन रोक लगाएको थियो भने फागुनदेखि मध्यपूर्वमा बढेको अस्थिरताले पनि श्रमिकको आवागमन प्रभावित भएको थियो।
यद्यपि, असार महिनामा मध्यपूर्वको अवस्था सामान्य बन्दै गएपछि संयुक्त अरब इमिरेट्स पुनः नेपाली श्रमिकको प्रमुख गन्तव्य बनेको छ। असारमा मात्रै १६ हजार १२६ जना नेपाली युएई पुगेका छन्, जसमा १३ हजार ३१८ जना पुरुष र दुई हजार ८०८ जना महिला रहेका छन्।
युएईपछि मलेसिया दोस्रो ठूलो गन्तव्य बनेको छ, जहाँ असारमा १३ हजार ४७० जना नेपाली श्रमिक पुगेका छन्। त्यस्तै, कतारमा ११ हजार ६३२, साउदी अरेबियामा नौ हजार ३६२ र कुवेतमा तीन हजार १८५ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा औसतमा दैनिक दुई हजार १८५ भन्दा बढी नेपाली रोजगारीको खोजीमा विदेशिएका छन्। संख्या केही घटे पनि नेपालको श्रम बजार अझै वैदेशिक रोजगारीमै अत्यधिक निर्भर रहेको पछिल्लो तथ्यांकले स्पष्ट देखाएको छ।