आज स्पेन–अर्जेन्टिना फाइनल निःशुल्क हेर्न पाइने, एनटीभी प्लसबाट प्रत्यक्ष प्रसारण

आप्रवासन आप्रवासन

फिफा विश्वकप फुटबल २०२६ को बहुप्रतीक्षित फाइनल खेल नेपालमा निःशुल्क हेर्न पाइने भएको छ। आज आइतबार राति १२:४५ बजे स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्त नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको हो।

सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमिल्सिनाले विश्वकपको तेस्रो स्थानको खेल र फाइनल खेल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएका छन्। उनले सरकारको पहलपछि नेपालका लागि विश्वकप प्रसारण अधिकार प्राप्त कम्पनीसँग सहमति भएको र त्यसकै आधारमा नेपाली दर्शकले अन्तिम दुई खेल निःशुल्क हेर्न पाउने व्यवस्था मिलाइएको बताएका छन्।

यसअघि विश्वकपका सबै खेल नेपालमा सशुल्क रूपमा मात्रै प्रसारण हुँदै आएका थिए। नेपालका लागि फिफा विश्वकप प्रसारण अधिकार एस्प्रो मिडियाले प्राप्त गरेको थियो। सोही कम्पनीले टेलिभिजनतर्फ हिमालयन स्पोर्ट्स र ओटीटी प्लेटफर्मतर्फ डिगो एपलाई प्रसारण अधिकार दिएको थियो।

विश्वकप हेर्न दर्शकले हिमालयन स्पोर्ट्स च्यानलका लागि ९९९ रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो भने डिगो एपमार्फत मोबाइलमा हेर्न ५०० रुपैयाँ र डेस्कटपमा हेर्न एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो। त्यसका कारण विश्वकप सबै नेपाली दर्शकको पहुँचमा पुग्न नसकेको भन्दै सुरुदेखि नै निःशुल्क प्रसारणको माग उठ्दै आएको थियो। यो विषय संसद्मा समेत उठाइएको थियो।

सञ्चारमन्त्री तिमिल्सिनाका अनुसार सरकारी सञ्चारमाध्यमले सुरुमा फिफाबाट प्रत्यक्ष प्रसारणको अधिकार खरिद नगरेकाले प्रतियोगिताभरका खेल निःशुल्क देखाउन सम्भव भएको थिएन। त्यसपछि सरकारले नेपालका लागि आधिकारिक प्रसारण अधिकार प्राप्त एस्प्रो मिडियासँग छलफल गरी विश्वकपका अन्तिम दुई खेल नेपाल टेलिभिजनमार्फत प्रसारण गर्न आग्रह गरेको थियो।

सरकारको आग्रहपछि एस्प्रो मिडिया र नेपाल टेलिभिजनबीच सहमति भएको तथा फिफाबाट अन्तिम स्वीकृति प्राप्त भएपछि तेस्रो स्थानको खेल र फाइनल खेल एनटीभी प्लसबाट निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाइएको मन्त्री तिमिल्सिनाले बताएका छन्।

यसअघि इंग्ल्यान्ड र फ्रान्सबीच भएको तेस्रो स्थानको खेल पनि एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण भइसकेको छ। अब आज राति हुने स्पेन र अर्जेन्टिनाबीचको फाइनल खेल पनि देशभरका दर्शकले कुनै अतिरिक्त शुल्क नतिरी नेपाल टेलिभिजनको एनटीभी प्लसमार्फत प्रत्यक्ष हेर्न सक्नेछन्।

सरकारले अन्तिम समयमा गरेको पहलपछि विश्वकपको उपाधि भिडन्त सबै नेपाली दर्शकको पहुँचमा पुगेको भन्दै यसलाई खेलप्रेमीका लागि सकारात्मक निर्णयका रूपमा हेरिएको छ।