साउदी अरेबियाले घरेलु श्रमिक (डोमेस्टिक वर्कर) का लागि इकामा (आवासीय अनुमति) नवीकरण प्रणालीमा महत्वपूर्ण परिवर्तन गरेको छ। अब रोजगारदाताले घरेलु श्रमिकको इकामा वार्षिक रूपमा मात्र होइन, तीन महिनादेखि सुरु हुने अवधिका लागि पनि नवीकरण गर्न सक्ने भएका छन्।
साउदी गृह मन्त्रालयअन्तर्गतको जनरल डाइरेक्टरेट अफ पासपोर्ट (जवाजात) ले मानव स्रोत तथा सामाजिक विकास मन्त्रालय र राष्ट्रिय भर्ती प्लेटफर्म ‘मुसानेद’सँगको सहकार्यमा नयाँ सेवा लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार इकामा तीन, छ, नौ, १२, १५, १८, २१ वा २४ महिनाका लागि जारी वा नवीकरण गर्न सकिनेछ। यो सेवा ‘अब्शेर’ डिजिटल प्लेटफर्ममार्फत उपलब्ध हुनेछ।
यसअघि घरेलु श्रमिकको इकामा सामान्यतया एक वा दुई वर्षका लागि मात्र नवीकरण गर्ने व्यवस्था थियो। नयाँ प्रणाली लागू भएसँगै रोजगारदाताले आवश्यक अवधिअनुसार मात्रै शुल्क तिरेर इकामा नवीकरण गर्न सक्नेछन्। तीन महिना वा त्यसका गुणक अवधिका लागि नवीकरण गर्दा शुल्क पनि सोही अवधिअनुसार किस्ताबन्दी शैलीमा तिर्न सकिने व्यवस्था गरिएको छ।
साउदी सरकारले यो व्यवस्थाले रोजगारदातामाथिको आर्थिक भार कम गर्नुका साथै घरेलु श्रमिक व्यवस्थापनलाई थप लचिलो र सहज बनाउने विश्वास व्यक्त गरेको छ। विभिन्न परिवार तथा रोजगारदाताको आवश्यकता अनुसार इकामा अवधि छनोट गर्न सकिने भएकाले प्रशासनिक प्रक्रिया पनि सरल हुने अपेक्षा गरिएको छ।
यो निर्णय साउदी अरेबियाले सरकारी सेवाहरूलाई डिजिटल माध्यमबाट थप प्रभावकारी बनाउने तथा अध्यागमन र श्रम प्रशासनलाई आधुनिक बनाउने अभियानअन्तर्गत लागू गरिएको हो। अब्शेर र मुसानेद प्लेटफर्ममार्फत अधिकांश सेवा अनलाइन उपलब्ध गराउने सरकारी रणनीतिअनुसार यो सुविधा विस्तार गरिएको जनाइएको छ।
यो व्यवस्था मुख्य रूपमा घरेलु श्रमिक तथा सोही श्रेणीका कामदारका लागि लागू गरिएको हो। नेपालीहरू पनि साउदी अरेबियामा घरेलु कामदार, हेरचाह सेवा तथा अन्य व्यक्तिगत सेवाका क्षेत्रमा कार्यरत रहेकाले नयाँ व्यवस्थाबाट रोजगारदाता र श्रमिक दुवै लाभान्वित हुन सक्ने अपेक्षा गरिएको छ। विशेषगरी वार्षिक रूपमा एकैपटक ठूलो रकम तिर्नुपर्ने बाध्यता हटेर आवश्यकता अनुसार छोटो अवधिका लागि इकामा नवीकरण गर्न सकिने भएकाले रोजगार व्यवस्थापन थप सहज हुने विश्वास गरिएको छ।