विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै

आप्रवासन आप्रवासन

कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई नभेटेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा नियोगमा प्रतिनिधिहरूलाई एक्लाएक्लै भेट्ने तयारी गरिरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार नेपालस्थित विभिन्न देशका राजदूतसँग भेट्ने तयारी भइरहेको छ । त्यसका लागि समयतालिका बनाउने काम भइरहेको स्रोतले जनायो ।

पहिलो चरणमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने कार्यक्रम छ । यद्यपि भेटघाटको समय तय नभएको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार त्यसपछि अन्य राजदूतलाई भेट्ने कार्यक्रम छ । विदेशी राजदूत तथा नियोगका अधिकारीहरूलाई प्रधानमन्त्रीले नभेटेको भन्दै आलोचना भइरहेको थियो । चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनले चैत २५ गते विभिन्न देशका राजदूतसँग एक साथ भेटवार्ता गरेका थिए ।

सो भेटमा विभिन्न देशका राजदूतले बालेनलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा नेपालको परराष्ट्र नीतिको बारेमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले राजदूतहरूलाई ब्रिफ गरेका थिए ।

त्यसपछि जेठ १२ गते काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग प्रधानमन्त्री बालेनले संयुक्त रूपमा भेटेका थिए । काठमाडौंस्थित आवासीय राजदूत र दिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूको वार्षिक बैठकमा सहभागी हुन नेपाल आइपुगेका युरोपेली युनियनका राजदूतहरूले प्रधानमन्त्री बालेनसँग भेट्ने चाहना गरेपछि त्यसरी संयुक्त रूपमा भेटेका थिए ।

बालेन प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिका र चीनबाट पटक–पटक उच्चस्तरीय भ्रमण भएको थियो, तर उनीहरूमध्ये कसैसँग प्रधानमन्त्री बालेनले भेट गर्न मानेका थिएनन् । वैशाख ७–९ गतेसम्म अमेरिकी विदेश मन्त्रालयअन्तर्गत दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरले नेपाल भ्रमण गरेका थिए ।

त्यसपछि वैशाख १७ देखि १९ गतेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया तथा मध्य एसिया हेर्ने विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले पनि नेपाल भ्रमण गरेका थिए । त्यसपछि जेठ १६ गतेदेखि अमेरिकी कूटनीतिज्ञ र सार्वजनिक मामिला हेर्ने उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाल भ्रमण गरेका थिए । तीनै जनाले प्रधानमन्त्री बालेनसँग भेट्ने प्रस्ताव गरेका थिए तर कसैसँग भेट भएन ।

असार २३ गते चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ चार दिने नेपाल भ्रमण आएका थिए । त्यसअघि पनि चीनबाट विभिन्न भ्रमण भएका थिए । प्रधानमन्त्री बालेनले ती कसैसँग भेट गरेनन् । प्रधानमन्त्री बालेनले भेटघाटको समय नदिएपछि भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रस्तावित नेपाल भ्रमण नै स्थगित गरेका थिए । हालै भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर नेपालको भ्रमण गरी फर्किएका छन् । यसरी पछिल्लो समय नेपाल भ्रमणमा आएका विदेशी राजनीतिक तथा कूटनीतिक प्रतिनिधिले अर्थमन्त्री डा।स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरे पनि प्रधानमन्त्रीसँग भेट गर्न पाएका छैनन् ।