इटालीमा विदेशी कामदार

इटालीले यो वर्ष १ लाख ६५ हजार विदेशी कामदार भित्र्याउने

आप्रवासन आप्रवासन

इटालीले यो वर्ष ठुलो सङ्ख्यामा विदेशी कामदार भित्र्याउने योजना अघि सारेको छ । इटालीको श्रम मन्त्रालयले सन् २०२५ मा १ लाख ६५ हजार विदेशीलाई वर्किङ भिसा जारी गरिने जनाएको हो ।

इटाली सरकारले कामको प्रकृति हेरेर कामदारको कोटा समेत निर्धारण गरेको छ । जस अन्तर्गत सन् २०२५ मा ९३ हजार ५५० सिजनल कामदारलाई इटालियन सेन्जेन भिसा जारी गरिने योजना छ। यस्तै, यस वर्षको विदेशी सिजनल कामदारको अधिकतम सीमा ८९ हजार ५० तोकिएको छ ।

सिजनल कामदारलाई सजिलो हुने गरी इटालीको श्रम मन्त्रालयले निर्देशिका समेत जारी गरेको छ । निर्देशिकाले पर्मिटको लागि दिइएको आवेदन स्वीकृत हुनुअघिबाटै आप्रवासी कामदारलाई काम गर्न पाउने सुविधा प्रदान गरेको छ ।

सिजनलबाहेक, निर्माण र स्वास्थ्य सेवाको क्षेत्रमा यो वर्ष १० हजार कामदार भित्र्याउने योजना इटालीको छ ।

इटालीले केही वर्षयता कामदार अभावको सामना गरिरहेको छ । जसलाई पूर्ति गर्न सरकारले विदेशी कामदारलाई जारी गरिने भिसाको सङ्ख्या छुट्याउँदै तीन वर्षे योजना लागू गरेको छ।

यो योजना श्रम अभाव देखिएका सबै पेसाहरूमा लागू भइरहेको छ ।

यसले गर्दा इटालीले विदेशी कामदारलाई जारी गर्ने वर्किङ भिसा समेत बर्सेनि बढ्दै गएको छ । सन् २०२४ मा १ लाख ५१ हजार र सन् २०२३ मा १ लाख ३६ हजार विदेशी कामदारलाई वर्किङ भिसा जारी गरिएको थियो।