अमेरिकाले लगातार ११औँ रात पनि इरानमाथि हवाई आक्रमण गरेको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत आणविक केन्द्रलाई पनि निशाना बनाउने चेतावनी दिएका छन् ।
ट्रम्पले ह्वाइट हाउसमा लेबनानका राष्ट्रपति जोसेफ आउनसँगको भेटका क्रममा नातान्ज नजिक रहेको ‘पिकएक्स माउन्टेन’ नामक भूमिगत आणविक केन्द्रमा चाँडै र अत्यन्त शक्तिशाली रूपमा आक्रमण गरिने चेतावनी दिएका हुन् । ट्रम्पले भनेका छन्– ‘हामी त्यो क्षेत्रमा चाँडै नै ठुलो आक्रमण गर्नेछौँ । उनीहरूले त्यसलाई रोक्न सक्ने केही पनि छैन ।’
जसपछि पश्चिम एसियामा तनाव थप चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो आक्रमणको उद्देश्य इरानको स्ट्रेट अफ होर्मुज क्षेत्रमा व्यापारिक जहाजलाई धम्की दिने सैन्य क्षमतालाई कमजोर बनाउनु हो । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो । तब्रिज, चाबहार, कोनारक तथा इरानको एक मात्र आणविक ऊर्जा केन्द्र रहेको बुशेहर क्षेत्रमा पनि विस्फोटको आवाज सुनिएको बताइएको छ ।
इरानको खातम अल–अनबिया सैन्य कमान्डले यस्तो आक्रमणलाई युद्धको थप विस्तारका रूपमा लिने चेतावनी दिएको छ । इरानले अमेरिकाका सबै हित, उसका सहयोगी र समर्थकमाथि प्रतिकारात्मक हमला गर्ने धम्की दिएको छ । यसअघि अप्रिलमा अमेरिका र इरानबिच युद्धविराम भएको थियो । तर गत सातादेखि स्ट्रेट अफ होर्मुजको नियन्त्रणलाई लिएर दुवै देशबिच फेरि सैन्य झडप सुरु भएको छ ।
सेन्टकमका अनुसार अमेरिकी सेनाले इरानका सैन्य सञ्चालन केन्द्र, समुद्री सैन्य क्षमता, विमान ह्याङ्गर, ड्रोन भण्डारण स्थल तथा सैन्य रसद संरचनामाथि आक्रमण गरेको छ । अमेरिकाले पछिल्ला तीन महिनामा इरानले स्ट्रेट अफ होर्मुजबाट गुज्रिने ३० भन्दा बढी व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप पनि लगाएको छ । अमेरिकाले यी आक्रमणले अन्तर्राष्ट्रिय जलमार्गको स्वतन्त्र आवागमनलाई जोखिममा पारेको जनाएको छ ।
उता, कुवेतले इरानबाट आएका ड्रोनहरू आफ्नो हवाई प्रतिरक्षा प्रणालीले रोकिरहेको जनाएको छ भने बहराइन र जोर्डनले पनि ड्रोन तथा मिसाइलहरू अवरोध गरेको बताएका छन् । यसैबिच, ट्रम्पले इरान समर्थित यमनको हुथी समूहलाई पनि चेतावनी दिएका छन् । हुथीहरूले साउदी अरेबियाका जहाजका लागि बाब अल–मन्दब जलडमरूमध्य बन्द गर्ने घोषणा गरेपछि ट्रम्पले त्यसो गरे अमेरिकाले हुथीविरुद्ध पनि कारबाही गर्ने बताएका छन् ।
हुथीहरूको चेतावनीपछि साउदी अरेबियाको यान्बु बन्दरगाहबाट चीन र भारततर्फ कच्चा तेल लिएर हिँडेका दुई ट्यांकरले आफ्नो मार्ग परिवर्तन गरी स्वेज नहरतर्फ फर्किएको बेलायती समुद्री सुरक्षा संस्था भ्यानगार्डले जनाएको छ । स्ट्रेट अफ होर्मुजमा जारी द्वन्द्वका कारण लाल सागरमार्फत हुने तेल ढुवानीको महत्त्व बढेको छ । तर हुथीहरूको नयाँ चेतावनीले अन्तर्राष्ट्रिय जलमार्ग र विश्व ऊर्जा आपूर्तिमा थप अवरोध आउने चिन्ता बढेको छ ।
जुन महिनामा अमेरिका र इरानबिच युद्ध रोक्ने, स्ट्रेट अफ होर्मुज पुनः खोल्ने तथा ६० दिनभित्र स्थायी सम्झौता गर्ने समझदारी भएको थियो । तर इरानद्वारा जहाजमाथि आक्रमण भएको भन्दै ट्रम्पले तीन सातापछि युद्धविराम समाप्त भएको घोषणा गरेका थिए । अमेरिकी रक्षामन्त्री पिट हेगसेथका अनुसार इरानसँगको युद्धमा अमेरिकाको खर्च हालसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको छ, जुन मे महिनाको अनुमानभन्दा करिब ८ अर्ब डलर बढी हो ।
उनले अमेरिकी सिनेटमा अतिरिक्त बजेट स्वीकृत नभए सैन्य तालिम कार्यक्रमसमेत प्रभावित हुने चेतावनी दिएका छन् ।