मलेसियामा अध्यागमन कारबाही कडा, नेपालीसहित १०८ विदेशी पक्राउ

संगम पहरी संगम पहरी

मलेसियाको जोहोर बारुमा अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा नेपालीसहित १०८ जना विदेशी नागरिक पक्राउ परेका छन्। मलेसियाको अध्यागमन विभाग र मलेसियन बोर्डर कन्ट्रोल एण्ड प्रोटेक्सन एजेन्सी (AKPS) ले संयुक्त रूपमा सञ्चालन गरेको विशेष कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

मलेसियाको जोहोर अध्यागमन विभागका निर्देशक दातुक मोहद रुस्दी मोहद दारुसका अनुसार जुलाई २० को राति जोहोर बारुको तामान श्री बहागिया क्षेत्रमा विदेशी नागरिकले सञ्चालन गरिरहेका व्यवसायलाई लक्षित गर्दै अनुगमन गरिएको थियो। अनुगमनका क्रममा रेस्टुरेन्ट, मोबाइल फोन पसललगायत विभिन्न व्यावसायिक प्रतिष्ठानमा रहेका विदेशी नागरिकको राहदानी, भिसा, रोजगार अनुमति र अन्य यात्रा कागजात जाँच गरिएको थियो।

जाँचपछि १८ देखि ४९ वर्ष उमेर समूहका १०१ पुरुष र सात महिलालाई अध्यागमनसम्बन्धी विभिन्न कानुन उल्लङ्घन गरेको आशंकामा पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये नेपाल, इन्डोनेसिया, भारत, बंगलादेश, म्यानमार र पाकिस्तानका नागरिक रहेका छन्। यद्यपि मलेसियाली अधिकारीहरूले प्रत्येक देशका कति नागरिक पक्राउ परे भन्ने विवरण सार्वजनिक गरेका छैनन्।

अध्यागमन विभागका अनुसार पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि सेटिया ट्रोपिका अध्यागमन डिपोमा राखिएको छ। उनीहरूमाथि मलेसियाको अध्यागमन ऐन १९५९/६३ तथा अध्यागमन नियमावली १९६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। साथै अनुसन्धानमा सहयोग गर्न दुई जना मलेसियाली नागरिकलाई पनि साक्षीका रूपमा उपस्थित हुन समन जारी गरिएको छ।

पछिल्ला केही सातादेखि मलेसियाले विभिन्न राज्यमा अध्यागमन अनुगमन र कारबाहीलाई तीव्र बनाएको छ। विशेषगरी वैध कागजातबिनाका कामदार, भिसाको सर्त उल्लङ्घन गर्ने, रोजगार अनुमतिभन्दा फरक क्षेत्रमा काम गर्ने तथा विदेशीले अवैध रूपमा व्यवसाय सञ्चालन गर्ने गतिविधिविरुद्ध लगातार अपरेसन सञ्चालन भइरहेको छ।

मलेसिया नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक भएकाले त्यहाँ कार्यरत नेपालीहरूले आफ्नो राहदानी, रोजगार अनुमति (वर्क परमिट), भिसा तथा अन्य अध्यागमन कागजात सधैं वैध अवस्थामा राख्नुपर्ने आवश्यकता थप बढेको छ। कागजातको म्याद सकिएको, रोजगारदाताले अनुमति नदिएको काममा संलग्न भएको वा अध्यागमन नियम उल्लङ्घन गरेको पाइए कानुनी कारबाही, हिरासत तथा देश निकाला हुन सक्ने भएकाले नेपाली श्रमिकलाई सबै कानुनी प्रक्रिया पालना गर्न मलेसियाली अधिकारीहरूले पुनः आग्रह गरेका छन्।

The Star