वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक मुलुकहरू पठाइदिने प्रलोभन देखाई लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूले बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठूलो रकम संकलन गर्ने र रकम उठाए पछि लामो समयसम्म सम्पर्कविहीन हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेहरूमा ३२ वर्षीया पूजा शाही (काठमाडौँ), २० वर्षीय दीपक साह (सप्तरी घर भई हाल गोकर्णेश्वर), ५१ वर्षीय जय मङ्गल प्रसाद निसाद (सर्लाही घर भई हाल काठमाडौँ-९) र ३७ वर्षीया मिना श्रेष्ठ खत्री (रामेछाप घर भई हाल काठमाडौँ-३२) रहेका छन्। आरोपीहरू मध्ये पूजा शाहीले बेलायत पठाइदिने भन्दै १७ लाख रूपैयाँ, दीपक साहले फ्रान्स पठाइदिने भन्दै ५ लाख रूपैयाँ, जय मङ्गल प्रसाद निसादले ब्रुनाई पठाइदिने भन्दै ४ लाख ३८ हजार रूपैयाँ र मिना श्रेष्ठ खत्रीले यु.ए.ई. (UAE) पठाइदिने भन्दै ६ लाख रूपैयाँ ठगी गरेको पाइएको छ।
पीडितहरूले दिएको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक (SP) रामेश्वर कार्कीले जानकारी दिनुभयो।