पोल्याण्डको भिसा

पोल्यान्डले भिसा दिन कडाई गर्दै, ९०% सम्म आवेदन अस्वीकृत

आप्रवासन आप्रवासन

पोल्यान्ड सरकारले विभिन्न प्रकारका भिसा प्रदानमा व्यापक कटौती गरेको छ । भिसा प्रणालीको दुरुपयोग रोक्ने भन्दै पोल्याण्ड सरकारले ९० प्रतिशतसम्म भिसा कटौती गरेका गरेको हो ।

पोल्याण्डको विदेश मन्त्रालयका अनुसार भिसा क्याटेगोरी हेरेर ३० देखि ९० प्रतिशतसम्म भिसा अस्वीकृत गरिएको छ । यद्यपि, कुन भिसामा बढी कडाई गरिएको हो भनेर मन्त्रालयले खुलाएको छैन् ।

पोल्यान्डमा हाल अनियमित आप्रवासनको समस्या चुलिँदै गएको छ । यसलाई नियन्त्रण गर्न पोलिस सरकारले अघिल्लो डेढ वर्षदेखि नयाँ आप्रवासन नीति निर्माणमा काम गरिरहेको छ। यस नीतिबाट देशमा प्रवेश गर्ने व्यक्तिहरूको प्रभावकारी निगरानी राख्ने र सीमामा परेको दबाब कम गर्ने लक्ष्य राखिएको छ ।

अनियमित आप्रवासनको माध्यम नबनोस् भनेर विदेशी विद्यार्थीका लागि पोल्यान्डले भिसा प्रणालीमा थप कडाइ गरेको छ ।

हालै पोलिस सिनेटले पारित गरेको नयाँ कानुनअनुसार अब पोल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले आफ्नो अध्ययन कार्यक्रम सञ्चालन हुने भाषामा कम्तीमा B2 स्तरको दक्षता प्रमाणित गर्नुपर्नेछ ।

साथै, विश्वविद्यालयहरूले पनि योग्य नभएका विद्यार्थीहरूलाई पैसाको बदलामा भर्ना नगरोस् भनेर निगरानी र नियमहरू थप कडाइ गरिएको छ । अब भाषा दक्षता प्रमाणपत्र बिना भिसा पाउनु कठिन हुनेछ  र पहिलेभन्दा कडाइका साथ मूल्याङ्कन हुनेछ ।  

यसबाट पोल्याण्ड जाने तयारी गरिरहेका नेपाली समेत प्रभावित हुने देखिन्छ ।