यूएईमा सबै कार्यस्थल दुर्घटनामा क्षतिपूर्ति पाइँदैन, श्रमिकले बुझ्नुपर्ने ६ महत्वपूर्ण अवस्था

संगम पहरी संगम पहरी

संयुक्त अरब इमिरेट्स (यूएई) को मानव स्रोत तथा इमिरेटाइजेसन मन्त्रालय (MoHRE) ले कामका क्रममा दुर्घटना भए पनि केही विशेष अवस्थामा श्रमिकले कार्यस्थल दुर्घटना (वर्क इन्जुरी) को क्षतिपूर्ति नपाउने स्पष्ट गरेको छ। यूएईमा कार्यरत लाखौं विदेशी श्रमिक, विशेषगरी नेपाली कामदारका लागि यो जानकारी महत्वपूर्ण मानिएको छ।

गल्फ न्युजका अनुसार यूएई श्रम कानुन र सम्बन्धित नियमावलीअनुसार कामदारले कार्यस्थलमा दुर्घटना वा व्यावसायिक रोगका कारण क्षति बेहोरेमा सामान्यतया उपचार खर्च, तलब र क्षतिपूर्ति पाउने व्यवस्था छ। तर दुर्घटना श्रमिककै गम्भीर लापरबाही वा कानुनविपरीत गतिविधिका कारण भएको प्रमाणित भएमा क्षतिपूर्ति नदिने व्यवस्था गरिएको छ।

MoHRE ले क्षतिपूर्ति नपाइने मुख्य ६ अवस्था उल्लेख गरेको छ। पहिलो, श्रमिकले जानाजानी आफूलाई चोट पुर्‍याएको वा आत्महत्याको प्रयास गरेको अवस्थामा क्षतिपूर्ति पाइँदैन। दोस्रो, मादक पदार्थ वा लागूऔषधको प्रभावमा रहेको अवस्थामा भएको दुर्घटनामा पनि क्षतिपूर्ति दिइँदैन। तेस्रो, सुरक्षा नियम वा कार्यस्थलका स्पष्ट निर्देशनलाई जानाजानी उल्लङ्घन गर्दा दुर्घटना भएमा श्रमिक क्षतिपूर्तिबाट वञ्चित हुन सक्छ।

यस्तै, चौथो, सुरक्षा उपकरण प्रयोग गर्नुपर्ने अवस्थामा जानाजानी प्रयोग नगरेर दुर्घटना भएको प्रमाणित भएमा क्षतिपूर्ति नपाइने व्यवस्था छ। पाँचौं, आफूलाई अधिकार नभएको वा तोकिएको जिम्मेवारीभन्दा बाहिरको जोखिमपूर्ण काम गर्दा दुर्घटना भएमा पनि दाबी अस्वीकृत हुन सक्छ। छैटौं, दुर्घटना गराउने उद्देश्यले जानाजानी गम्भीर लापरबाही गरेको वा कानुनविपरीत कार्य गरेको पुष्टि भएमा पनि क्षतिपूर्ति नदिने कानुनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

MoHRE का अनुसार कार्यस्थलमा दुर्घटना भएमा रोजगारदाताले तत्काल सम्बन्धित स्वास्थ्य संस्थामा उपचारको व्यवस्था गर्नुपर्छ र सम्बन्धित निकायमा दुर्घटनाको जानकारी गराउनुपर्छ। दुर्घटनाको प्रकृति र कारणको अनुसन्धानपछि मात्र श्रमिकले कानुनअनुसार क्षतिपूर्ति पाउने वा नपाउने निर्णय गरिन्छ। दुर्घटनाको सम्पूर्ण उपचार खर्च तथा कानुनले तोकेका अन्य दायित्व पूरा गर्नु रोजगारदाताको जिम्मेवारी रहने मन्त्रालयले जनाएको छ।

यूएई नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्य भएकाले त्यहाँ कार्यरत नेपालीहरूले कार्यस्थलका सुरक्षा नियम कडाइका साथ पालना गर्न, व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य रूपमा प्रयोग गर्न तथा रोजगारदाताले दिएका सुरक्षा निर्देशनको उल्लङ्घन नगर्न विज्ञहरूले सुझाव दिएका छन्। यसो गर्दा दुर्घटनाको जोखिम कम हुनुका साथै कानुनी रूपमा उपलब्ध हुने क्षतिपूर्ति र अन्य अधिकार सुरक्षित रहनेछ।