पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुल्दै

आप्रवासन आप्रवासन

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारलाई प्रोत्साहन गर्न विभिन्न विमानस्थल शुल्कमा छुट दिने निर्णय गरेको छ। यस निर्णयसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा नयाँ सम्भावना देखिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्ने उद्देश्यले विसं २०८५ भदौ मसान्तसम्मका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको हो। साथै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको निर्णयले पोखरा–दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न र नयाँ वायुसेवा कम्पनीलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार र स्थानीय आर्थिक गतिविधिलाई सकारात्मक टेवा पुर्‍याउनेछ।

यसैबीच, फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सीधा उडान सुरु गर्ने तयारी गरेको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबई–पोखरा–दुबई उडान तालिका स्वीकृत भइसकेको छ र टिकट बुकिङ पनि खुला गरिएको छ।

दुबईसँग सिधा हवाई सम्पर्क स्थापित भएपछि युरोप, अमेरिका लगायतका विभिन्न मुलुक जाने यात्रुले सहज रूपमा ट्रान्जिट सेवा लिन सक्नेछन्। यसबाट यात्राको समय छोटिने, खर्च घट्ने तथा वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय र पर्यटनका लागि यात्रा गर्ने नेपालीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

साथै, पर्यटकीय राजधानी पोखरा र आसपासका गन्तव्यमा विदेशी पर्यटक सिधै हवाईमार्गबाट आउन सक्ने वातावरण बन्ने विश्वास गरिएको छ, जसले पर्यटन उद्योगलाई थप चलायमान बनाउने अपेक्षा छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ महिनामै फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो। त्यसपछि कम्पनीले उडान तालिका सार्वजनिक गर्दै टिकट बिक्री प्रक्रिया अघि बढाएको हो।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएको थियो। सोही नीतिअनुसार हाल शुल्क छुटको व्यवस्था लागू गरिएको हो।

झण्डै २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष पुग्न लाग्दा पनि चार्टर उडानबाहेक नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन हुन सकेको थिएन। सरकारले घोषणा गरेको नयाँ सहुलियतसँगै अब नियमित अन्तर्राष्ट्रिय उडान विस्तार हुने अपेक्षा गरिएको छ।