मलेसियामा भिजिट भिसामा काम गर्नेविरुद्ध कडा कारबाही, ४५१ विदेशी पक्राउ

संगम पहरी संगम पहरी

मलेसियाले भिजिट पास (Social Visit Pass) को दुरुपयोग गरेर काम गर्ने विदेशी नागरिकविरुद्ध कडा कारबाहीलाई तीव्र बनाएको छ। मलेसियाको अध्यागमन विभागले सन् २०२६ को जुलाई १५ सम्म ४५१ जना विदेशी नागरिकलाई पर्यटक वा सामाजिक भ्रमण भिसामा प्रवेश गरेर गैरकानुनी रूपमा काम गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।

मलेसियाका अध्यागमन महानिर्देशक दातुक जकारिया शाबानले साइबरजायामा आयोजित अध्यागमन दिवस कार्यक्रममा उक्त जानकारी दिएका हुन्। उनका अनुसार ती विदेशी नागरिकहरू सामाजिक भ्रमण वा पर्यटक भिसामा मलेसिया प्रवेश गरेपछि त्यसको सर्त उल्लङ्घन गर्दै विभिन्न कम्पनी, रेस्टुरेन्ट, कारखाना तथा व्यवसायिक प्रतिष्ठानमा काम गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

अध्यागमन विभागका अनुसार सन् २०२६ को जुलाई १५ सम्म देशभर ७ हजार १०५ वटा अध्यागमन अपरेसन सञ्चालन गरिएको छ। ती अपरेसनका क्रममा विभिन्न अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा ४१ हजार ५९६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको छ। साथै, अवैध रूपमा विदेशी श्रमिकलाई रोजगारी दिएको वा आश्रय दिएको आरोपमा १ हजार १२७ जना रोजगारदाता तथा व्यवसायीमाथि पनि कारबाही गरिएको विभागले जनाएको छ।

महानिर्देशक शाबानले सामाजिक भ्रमण भिसाको दुरुपयोग गर्नेहरू कुनै एक देशका नागरिक मात्र नभएको स्पष्ट गरेका छन्। उनका अनुसार पक्राउ परेकामध्ये इन्डोनेसिया, बंगलादेश, म्यानमारलगायत विभिन्न मुलुकका नागरिक रहेका छन्। सामाजिक सञ्जालमा केही विशेष देशका नागरिक मात्रै यस्तो गतिविधिमा संलग्न रहेको दाबी गरिए पनि अध्यागमन विभागको तथ्यांकले त्यस्तो पुष्टि नगरेको उनले बताए।

मलेसिया सरकारले सन् २०२६ लाई अध्यागमन कानुन कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने वर्षका रूपमा अघि बढाएको जनाएको छ। त्यसअनुसार भिसा, वर्क परमिट र अन्य अध्यागमन कागजातको दुरुपयोग गर्ने व्यक्ति तथा उनीहरूलाई रोजगार दिने कम्पनीमाथि देशभर नियमित अनुगमन र कारबाही जारी रहने विभागले जनाएको छ।

यो विषय मलेसियामा कार्यरत नेपाली श्रमिकका लागि पनि महत्वपूर्ण छ। मलेसिया नेपालीहरूको प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक भएकाले नेपाली नागरिकले पर्यटक वा सामाजिक भ्रमण भिसामा प्रवेश गरेर कुनै पनि प्रकारको रोजगारी वा व्यवसाय सञ्चालन गर्न नहुने नियमलाई कडाइका साथ पालना गर्नुपर्ने देखिएको छ। वैध रोजगार भिसा, कार्य अनुमति र रोजगार सम्झौताअनुसार मात्र काम गर्नुपर्ने तथा भिसाको सर्त उल्लङ्घन गरे कानुनी कारबाही, हिरासत र स्वदेश फिर्ता (डिपोर्ट) हुन सक्ने भएकाले नेपाली श्रमिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।