पोर्चुगलले गर्‍यो साढे २३ हजार पर्मिट आवेदन अस्वीकृत

पोर्चुगलले गर्‍यो साढे २३ हजार पर्मिट आवेदन अस्वीकृत

आप्रवासन आप्रवासन

पोर्चुगलले २३ हजार ५ सय आवासीय पर्मिटको आवेदन अस्वीकृत गरेको छ । पोर्चुगलको एजेन्सी फर इन्टिग्रेसन, माइग्रेसन एन्ड असाइलमले प्राप्त आवेदनमध्ये २३ हजार बढीको आवेदन स्वीकृत नगरेको हो । यसरी आवेदन अस्वीकृत भएकामध्ये ४ हजार ५ सय जनालाई २० दिनभित्र पोर्चुगल छाड्न भनिएको छ ।

पोर्चुगल सरकारको करिब १८ हजार विदेशीलाई निष्कासन गर्ने योजना मुताबिक उनीहरूलाई स्वेच्छाले देश छाड्न सूचित गरिएको हो ।

एजेन्सीमा रेसिडेन्सी पर्मिटका लागि परेको आवेदनमध्ये १ लाख २३ हजार जनाको आवेदन भने स्वीकृत गरिएको छ । यस्तै, १ लाख ७१ हजार जनाको आवेदन भने पेमेन्ट नगरेको भन्दै क्यान्सिल गरिएको छ ।

पोर्चुगलमा रेसिडेन्सी पर्मिटका लागि ४ लाख ४६ हजार ९२१ वटा आवेदन परेको छ जुन लामो समयदेखि क्युमा छन् ।

यसरी लामो समयदेखि आवेदनमा निर्णय नहुँदा त्यसको प्रत्यक्ष मारमा नेपालीसहितका आप्रवासीहरू पर्ने गरेका छन् । आवासीय पर्मिट पाउन सहज हुन्छ भन्ने हेतुले ठुलो सङ्ख्यामा नेपालीहरू अन्य देशबाट पोर्चुगल पुग्ने गरेका छन् ।