साउदीमा एक सातामै १३ हजारभन्दा बढी अवैध विदेशी निष्कासन

आप्रवासन आप्रवासन

साउदी अरेबियाले अवैध रूपमा बसोबास गर्ने, श्रम कानुन उल्लङ्घन गर्ने तथा सीमा सुरक्षा नियम तोड्ने विदेशी नागरिकविरुद्ध देशव्यापी कडा अभियानलाई निरन्तरता दिएको छ। साउदी गृह मन्त्रालयका अनुसार पछिल्लो एक सातामा कानुनी प्रक्रिया पूरा गरी १३ हजार २५१ जना विदेशी नागरिकलाई स्वदेश फर्काइएको छ।

गल्फ न्यूजका अनुसार मन्त्रालयले देशभर सञ्चालन गरेको संयुक्त सुरक्षा अभियानका क्रममा करिब १५ हजार जनालाई अध्यागमन, श्रम तथा सीमा सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको थियो। पक्राउ परेकामध्ये कानुनी प्रक्रिया पूरा भएका १३ हजारभन्दा बढीलाई निष्कासन गरिएको हो।

मन्त्रालयका अनुसार हाल पनि ३० हजार ५ सयभन्दा बढी विदेशी नागरिक विभिन्न कानुनी प्रक्रियामा रहेका छन्। तीमध्ये १७ हजार ७४७ जनालाई यात्रा कागजात प्राप्त गर्न सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगमा पठाइएको छ भने ६ हजार ११३ जनाको स्वदेश फिर्तीका लागि यात्रा व्यवस्थापन भइरहेको छ।

साउदी सरकारले अवैध रूपमा बसोबास गर्ने, वैध इकामा (रेसिडेन्सी परमिट) बिना काम गर्ने, श्रम कानुन उल्लङ्घन गर्ने तथा सीमा सुरक्षा नियम विपरीत गतिविधिमा संलग्न व्यक्तिविरुद्ध नियमित रूपमा संयुक्त सुरक्षा अभियान सञ्चालन गर्दै आएको जनाएको छ। गृह मन्त्रालयले यस्ता व्यक्तिलाई आश्रय दिने, रोजगारी उपलब्ध गराउने, ओसारपसार गर्ने वा सहयोग गर्ने व्यक्ति तथा संस्थामाथि पनि कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ।

साउदी अरेबिया नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक भएकाले यो अभियान नेपाली श्रमिकका लागि पनि महत्वपूर्ण मानिएको छ। वैध इकामा, श्रम सम्झौता र रोजगार अनुमतिअनुसार मात्र काम गर्नुपर्ने तथा भिसा वा बसोबाससम्बन्धी नियम उल्लङ्घन नगर्न श्रमिकलाई विज्ञहरूले सुझाव दिएका छन्।

विशेषगरी रोजगारदाता परिवर्तन, इकामा नवीकरण, भिसाको अवधि, श्रम सम्झौता तथा काम गर्ने कानुनी हैसियतबारे नियमित रूपमा जानकारी राख्नुपर्ने आवश्यकता बढेको छ। नियम उल्लङ्घन भएको अवस्थामा पक्राउ, हिरासत, जरिवाना तथा अन्ततः निष्कासन (डिपोर्ट) हुन सक्ने भएकाले साउदीमा रहेका नेपालीले आफ्नो अध्यागमन र श्रमसम्बन्धी कागजात सधैं अद्यावधिक राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।