बुद्ध एयरले ल्यायो नयाँ एटीआर ७२–६००, थप तीन विमान ल्याउने तयारी

आप्रवासन आप्रवासन

निजी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो उडान सेवा थप आधुनिक र प्रभावकारी बनाउने उद्देश्यसहित एटीआर ७२–६०० सिरिजको नयाँ विमान नेपाल भित्र्याएको छ। फ्रान्सको टुलुजबाट ल्याइएको यो विमान आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेपछि आगामी महिनादेखि नियमित व्यावसायिक उडानमा सञ्चालन गरिने कम्पनीले जनाएको छ।

यो विमान करिब १० वर्षअघि निर्माण भएर फ्रान्समा सञ्चालनमा रहेको भए पनि बुद्ध एयरका अनुसार हाल कम्पनीले सञ्चालन गरिरहेका एटीआर ७२–५०० सिरिजका विमानभन्दा आधुनिक प्रविधियुक्त हो। ७२ यात्रु क्षमता भएको यस विमानले उडान सुरक्षा, सञ्चालन दक्षता र यात्रु सेवामा थप सुधार ल्याउने कम्पनीको विश्वास छ।

एटीआर ७२–६०० मा पूर्ण ग्लास ककपिट, आधुनिक एभियोनिक्स, डिजिटल फ्लाइट म्यानेजमेन्ट सिस्टम, उन्नत नेभिगेशन प्रणाली तथा अत्याधुनिक सुरक्षा प्रविधि जडान गरिएको छ। साथै, कम इन्धन खपत गर्ने भएकाले यो विमान वातावरणमैत्री पनि मानिन्छ।

यस विमानको अर्को विशेषता आरएनपी–एआर (Required Navigation Performance–Authorization Required) एप्रोच प्रणाली हो। बुद्ध एयरका अनुसार यस प्रणालीको प्रयोगबाट काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी हुँदा पनि सुरक्षित अवतरण गर्न सकिन्छ। हाल लागू रहेको इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) प्रक्रियाअनुसार काठमाडौं र भैरहवामा कम्तीमा १,६०० मिटर तथा पोखरामा ३,१०० मिटर भिजिबिलिटी आवश्यक पर्ने व्यवस्था छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआर आधारित उडान प्रक्रिया लागू गर्ने विषयमा अध्ययन गरिरहेको छ। उक्त प्रणाली कार्यान्वयन भएपछि करिब २,००० मिटर भिजिबिलिटीमा पनि यस विमानबाट सुरक्षित उडान तथा अवतरण सम्भव हुने अपेक्षा गरिएको छ। यसले कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ तथा रद्द हुने समस्या घटाउन मद्दत पुग्ने विश्वास बुद्ध एयरको छ।

विमान नेपाल ल्याउने क्रममा सुरुआती उडान विदेशी पाइलटको टोलीले सञ्चालन गरेको थियो। अहिले बुद्ध एयरका नेपाली पाइलटहरू एटीआर ७२–६०० सञ्चालनसम्बन्धी विशेष तालिममा रहेका छन्। तालिम पूरा भएपछि नियमित उडान नेपाली पाइलटहरूले नै सञ्चालन गर्ने कम्पनीले जनाएको छ।

हाल बुद्ध एयरसँग एटीआर ७२–५०० सिरिजका १५ वटा, एटीआर ४२–३२० सिरिजको एउटा र एटीआर ७२–६०० सिरिजको एउटा विमान सञ्चालनमा छन्। नयाँ विमान थपिएसँगै कम्पनीले काठमाडौंबाट पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत प्रमुख गन्तव्यमा उडान संख्या विस्तार गर्ने योजना बनाएको छ।

कम्पनीले आगामी अगस्टको अन्त्यतिर अर्को एउटा एटीआर ७२–६०० विमान नेपाल ल्याउने तयारी गरिरहेको जनाएको छ। त्यसपछि पनि यही सिरिजका थप दुई विमान भित्र्याउने गृहकार्य अघि बढाइएको छ। नयाँ जहाजहरू थपिएसँगै यात्रुलाई अझ सुरक्षित, नियमित, आधुनिक र भरपर्दो हवाई सेवा उपलब्ध गराउने लक्ष्य बुद्ध एयरले लिएको छ।